काठमाडौं । केही वर्ष अघिसम्म चिट्ठाको खेलाउने चलन व्यापक थियो । दशैं तिहार लगायतका चाडपर्व नजिकिएसँगै कार, मोटरसाइकल, मोबाइल जस्ता महँगा र आकर्षक सामानहरुलाई देखाएर सर्वसाधारणसँग रकम असुली गर्ने धन्दा निकै मौलाएको थियो । यस्तो काममा स्थानीय क्लब, टोल सुधार समिति लगायतका समूहहरु सक्रिय हुने गर्थे ।
त्यतिबेला चिट्ठाको नाममा विभिन्न व्यक्तिहरु ठगिए । महँगो मूल्य राख्ने र धम्कीपूर्ण शैलीमा जबरजस्ती चिट्ठा काट्न लगाउने, नक्कली रसिद खडा गरेर ठगी गर्ने, चिट्ठा खोल्ने समयमा आयोजक नै बेपत्ता हुने तथा आफ्नो मान्छेलाई चिट्ठा पारेर ठगी गर्ने जस्ता प्रचलन मौलाएपछि त्यतिबेलै यस्ता उपहार वा चिट्ठाको कार्यक्रमलाई सरकारले बन्देज नै गरेको थियो । प्रशासनको बन्देजपछि यस्तो ट्रेन्डमा व्यापक कमी आएको छ । फाट्टफुट्ट रुपमा यस्तो खेल खेलाइए पनि ठगीका घटना बाहिर आएका छैनन् ।





