अनलाइन पोर्टल अनिवार्य, खरिकर्तालाई सेकुअर्ड बिलिङ
काठमाडौं । विद्युतीय माध्यमबाट हुँदै आएको वस्तु तथा सेवाको व्यापारलाई नियमन गर्न नयाँ कानुन ल्याउने तयारी थालिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनलाइन माध्यमबाट हुने त्यस्तो कारोबारलाई कानुनी दायरामा ल्याउने उद्देश्यले नयाँ ऐनको विधेयकको तयारी अघि बढाएको हो । उक्त विधेयकको मस्यौदा तयार गरी मन्त्रालयले आवश्यक सुझाव संकलन गर्ने प्रक्रिया थालेको छ ।
प्रस्तावित विधेयकको मस्यौदामा आफ्नै उत्पादनका वस्तु तथा सेवा बिक्री गर्न वा अन्तरवर्ती व्यवसायी (एजेन्ट) मार्फत् खरिदबिक्री गर्ने दुवै बाटो खुला राखिएको छ ।
प्रस्तावित ऐन अनुसार अब अनलाइन कारोबारका लागि बिक्रेताहरुले वाणिज्य विभागमा आफ्नो व्यवसायको दर्ता अनिवार्य रुपमा गर्नु पर्नेछ । साथै यसरी व्यापार गर्ने अनलाइन प्लेटफर्मसमेत अनिवार्य रुपमा खडा गर्नुपर्नेछ । सो पोर्टलमा आफूले बेच्ने वस्तु तथा सेवाहरुको सम्पूर्ण विवरण तोकिएको ढाँचामा प्रकाशन गर्नुपर्ने उल्लेख गरिएको छ । ...





