कोभिडपछि इन्टरनेट प्रयाेग गर्ने ३० प्रतिशतले बढेका छन् । त्यसरी इन्टरनेट प्रयाेगकर्ता बढेपनि दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेकाे रिपाेर्ट अनुसार अझै पनि २३ प्रतिशत जनसङ्ख्या इन्टरनेटको पहुँच बाहिर रहेकाे देखिन्छ ।
कोरोना भाइरसपछि सम्पूर्ण क्रियाकलाप अनलाइनबाटै हुन थालेपछि नेपालमा इन्टरनेट व्यान्डविथ खपत ३० प्रतिशतले बढेको इन्टरनेट सेवाप्रदायकहरूको भनाई छ। खासगरी कारोनाको कारण सरकारले बन्दाबन्दी र निषेधाज्ञा जारी गरेपछि ग्राहक भिडियो कन्टेन्टमै बढी केन्द्रित भएका छन् । जसको कारण ब्यान्डविथ खपत ह्वातै बढेको सेवाप्रदायकहरू बताउँछन् ।
इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत बढे पनि यसको प्रयोग भने मुख्यतया गुगल, फेसबुक र टिकटकमै व्यान्डवीथ खपत भइरहेको बताए। पराजुलीका अनुसार लकडाउनपछि पहिलेको तुलनामा कम्तीमा ३० प्रतिशतले इन्टरनेट ब्यान्डविथ खपत बढिरहेको छ । अहिले नेपालमा करिब ४ सय १८ जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेको छ ।
तर, दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेकाे २०७७ असोजसम्मको एमआईएस रिपोर्टले दशैभर इन्टरनेट विस्तार हुन भने नसकेको देखाएको छ ।





