काठमाडौं । चालू आवको प्रथम त्रैमासिक मौद्रिक समीक्षाले लिएको नीति कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले तयारी थालेको छ । यो व्यवस्थाले फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल तथा युट्युब, गूगललगायत अन्य सूचनाप्रविधिको माध्यमबाट गरिने विज्ञापन तथा विदेशी संस्थाबाट लिइने साना रकमको अनलाइन कोर्षलगायतको भुक्तानी नेपालबाटै गर्न सकिनेछ ।
मौद्रिक नीतिअनुसार नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत जुनसुकै विदेशी सेवा आयातबापत वाणिज्य बैंकबाट प्रिपेड कार्डमार्फत भुक्तानी हुनेगरी व्यवस्था मिलाउन लागेको छ । यसका लागि बैंकले तयार पारेको प्रस्तावित व्यवस्थामा सुझाव दिन सोमवार सूचना जारी गरिएको छ ।
विभागले सोमवार जारी गरेको प्रस्तावित व्यवस्थाबारे सरोकारवालाहरूसँग पुस मसान्तसम्म सुझाव तथा प्रतिक्रिया माग गरेको छ ।





