काठमाडौं । बन्दाबन्दी तथा निषेधाज्ञा र त्यसपछिको समयमा डिजिटल कारोबार क्रमशः बढ्दै गएकोमा कात्तिक महीनामा भने यसको संख्या घटेको छ ।
गत चैत ११ गतेदेखि असारसम्म कोभिडको उच्च सतर्कता अपनाएका बेला र यसपछि बजार पूर्णरूपमा खुला नभएका कारण अधिकांश ग्राहकले नगदभन्दा डिजिटल भुक्तानीलाई प्राथमिकता दिए । बन्दाबन्दी हटाउँदै जाँदा अर्थतन्त्र चलायमान हुने क्रममा रहे पनि असोजसम्म बढेको डिजिटल कारोबार कात्तिकमा भने केही कमी देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत असोजको तुलनामा कात्तिकमा डिजिटल उपकरणहरू मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) , आईपीएस, कनेक्ट आईपीएस वालेट, ई–कमर्शका कारोबार घटेको छ । मोबाइल बैंकिङमार्फत हुने कारोबार एकै महीनाको अन्तरमा २ लाख ६ हजारको संख्यामा रू. ३ अर्ब १५ करोडले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।





