विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट देशका सबै सेवा–व्यवसाय प्रभावित भएका छन् । सरकारले कोभिड–१९ को रोकथामका लागि गत चैत ११ गतेदेखि लकडाउन ग-यो । सोही कारण कतिपय व्यवसायमा कोभिडको असर लामो समयसम्म पर्ने देखियो भने केही व्यवसाय छिट्टै पुरानै लयमा फर्कन सक्ने खालका छन् । त्यसो त यसै समयमा नयाँ आइडिया र लगानी पनि नआएका भने होइनन् । बन्दाबन्दीलाई विशेष ध्यानमा राखी ई–कमर्श स्टार्टअपहरू बजारमा आएका छन् । बन्दाबन्दीमा बजार प्रवेश गर्ने स्टार्टअपहरूले उपभोक्तालाई आकर्षण गर्न नयाँ तरिका अवलम्बन गरेको पनि देखिन्छ ।
केही समय अगाडिसम्म ई–कमर्शप्रति खासै रुचि नहुनेहरूले पनि लकडाउनको अवधिमा भरपुर प्रयोग गरेका छन् । यसले लकडाउनका कारण ई–कमर्शप्रति उपभोक्ताको विश्वसनीयता र लोकप्रियता बढेको मान्न सकिन्छ ।
महामारीअघिको अवस्थामा अन्य पेसामा रहेका र महामारीका कारण रोजगारी गुमाएकाहरूले पनि यसै क्षेत्रमा रुचि बढाएको देख्न सकिन्छ । नेपालमा सूचना प्रविधितर्फ बढ्दै गएको रुचिले ई–कमर्श व्यवसायलाई अगाडि बढाउन थप सहज भएको छ । हातहातमा स्मार्टफोन र इन्टरनेटको सहजताले आमउपभोक्तालाई अनलाइन सपिङ गर्न सहज भएको छ । एकातर्फ प्रविधिको सहजता बढ्दै गएको छ भने अर्कातर्फ आमउपभोक्ताको जीवनशैली र रहनसहनमा पनि परिवर्तन आएको छ ।





