नारायणप्रसाद पौडेल प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । २०७५ जेठमा सो कम्पनीको सीईओ बनेका उनी नेपाल राष्ट्र बैङ्कको नियमन विभागमा कार्यकारी निर्देशक थिए । राष्ट्र बैङ्कमा ३० वर्षको सेवापछि उनी बाहिरिएका हुन् । राष्ट्र बैङ्कमा रहँदा बैङ्क तथा वित्तीय संस्थाहरूको पुँजी वृद्धि, मर्जर तथा नेपाल पूर्वाधार बैङ्कको लाइसेन्स प्रक्रियामा समेत प्रत्यक्ष भूमिका निर्वाह गरेका पौडेल अवकास लगत्तै फरक क्षेत्रमा आएका हुन् । प्रभु ग्रुप अन्तर्गतका प्रवद्र्धकहरूको मुख्य लगानी रहेको प्रभु लाइफ इन्स्योरेन्स आइतबार ३ वर्ष पूरा भएर चौथो वर्षमा प्रवेश गरेको छ । चौथो वर्र्ष सुरु भएकै दोस्रो दिन सोमबारदेखि सो कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक साधारण निष्काशन (आईपीओ) समेत खुला गर्दैछ । यसै सन्दर्भमा सो कम्पनीको समग्र अवस्था, बिमा बजारको पछिल्लो अवस्था तथा बैङ्किङ र बिमा क्षेत्रमा गरेको अनुभवको सन्दर्भमा केन्द्रित भई सीईओ पौडेलसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
प्रभु लाइफले आइतबार (हिजो) देखि चौथो वर्षमा प्रवेश गर्यो । सोमबार (आज) देखि साधारण सेयर (आईपीओ) निष्काशनमा जाँदैछ । विगत ३ वर्षमा तपाईंहरूको प्रगति कस्तो रह्यो ?
यो कम्पनीको वित्तीय सूचकहरूको प्रगति पछिल्लो २०७७ असोज मसान्तको वित्तीय विवरणमा प्रकाशित गरिसकेका छौँ । विस्तृतमा त्यहाँबाट पनि हेर्न सकिन्छ । हाम्रो अहिलेको पुँजी १ अर्ब ४० करोड रूपैयाँ हो । आईपीओ निष्काशन भएर बिक्री प्रबन्धकले काम पूरा गरिसकेपछि पुँजी ६० करोडले बढेर पुँजी २ अर्ब पुग्छ ।
अपरिष्कृत तथ्याङ्क अनुसार जगेडा कोषमा २३, २४ करोड रूपैयाँ छ । बिमालेख धारकको अधीनमा रहने जीवनबिमा कोष अनिवार्य रूपमा खडा गर्नुपर्ने कोषमा १ अर्ब २० करोड जति पुगिसकेको अवस्था छ ।








