सूचनाप्रविधि र विद्युतीय भुक्तानीका उपकरणहरूको विकास र विस्तारसँगै यसप्रति सर्वसाधारण तथा शिक्षित वर्गको अभ्यस्तता दिन प्रतिदिन बढ्दै गएको छ । बढ्दो व्यस्त जीवनशैली र संक्रामक रोगको त्रास समेतले विद्युतीय भुक्तानी अब रहर र छनोटको विषयमा मात्र सीमित रहेन । हाम्रो बजारमा उपलब्ध भई लोकप्रिय बनेका विद्युतीय भुक्तानी उपकरणहरूमध्ये भुक्तानी कार्डहरू (डेबिट, क्रेडिट तथा प्रिपेड), तत्काल भुक्तानी गर्न सकिने (आईपीएस, आरटीजीएस) उपकरणहरू, मोबाइल तथा इन्टरनेट बैंकिङका साथै क्यूआरमा आधारित भुक्तानी तथा पोइन्ट अफ सेल (पस) मेशिनसँगै अनलाइन (ईकमर्श) कारोबारको प्रयोग पनि दिनानुदिन बढ्दो छ ।
अनावश्यक रूपमा अनलाइन सपिङ साइट आदिमा गएर खाता खोल्ने, इमेल, मोबाइललगायत विवरण प्रविष्टि गर्ने, गूगल र फेसबुक खाता लिंक गर्ने बानी गर्नु हुँदैन ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको २०७७ असोज महीनाको तथ्यांकअनुसार अनुमतिपत्र प्राप्त १६ ओटा भुक्तानी सेवाप्रदायक संस्थामा ८ हजार ६९३ एजेन्ट आबद्ध भई सेवा दिइरहेका छन् भने उक्त सञ्जालमा रहेका ६६ लाखभन्दा धेरै प्रयोगकर्ताले त्यो १ महीनाको अवधिमा ९ अर्ब ८८ करोडभन्दा धेरै रकमको वालेटमार्फत कारोबार गरेका छन् । साथै, इजाजतपत्र प्राप्त विभिन्न बैंक तथा वित्तीय संस्थाबाट जारी गरिएका करीब ७६ लाख डेबिट कार्ड र १ लाख ६८ हजार क्रेडिट कार्ड प्रयोगकर्ताले अनलाइन (ईकमर्श) तथा पस मेशिनमार्फत क्रमशः ७९ करोड र २ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको विद्युतीय भुक्तानी गरेको तथ्यांक छ । आफ्नो खाता रहेको बैंकको इन्टरनेट बैंकिङ सेवा लिएका १० लाखभन्दा धेरै प्रयोगकर्ताले सोही अवधिमा ६ अर्ब ३१ करोड ४० लाख रुपैयाँको कारोबार गरेका छन् । यस हिसाबले हेर्दा आगामी दिनमा विद्युतीय भुक्तानी माध्यमको प्रयोग अझै बढ्ने देखिएकाले यसको सुरक्षाका लागि अपनाउनुपर्ने सतर्कता सबैको चासोको विषय हुन जरुरी छ ।
जुनसुकै माध्यम र प्रयोजनका लागि जतिसुकै रकमको कारोबार भए तापनि विद्युतीय माध्यमबाट हुने भुक्तानी सरल हुनुका साथसाथै जोखिमपूर्ण रहेको छ । भुक्तानी गर्दा हामीले गर्ने हतार र पूरा विवरण अध्ययनमा हेलचेक्र्याइँ र सानो बेवास्ताले गर्दा जानअन्जानमा हामी आर्थिक नोक्सानीको शिकार हुने गरेका छौं । विद्युतीय भुक्तानीका क्रममा हामीले आर्थिक नोक्सानी बेहोर्न सक्ने विभिन्न अवस्थामध्ये केही यस प्रकार छन् :
१. बैंक, वित्तीय संस्था र वालेटहरूमा सदस्यता लिँदाका शर्त तथा बन्देजहरू पूर्ण रूपमा अध्ययन नगर्नाले अनावश्यक शुल्कको भार थपिने,
२. उपलब्ध विभिन्न भुक्तानी उपकरणमध्ये उपयुक्त (सस्तो) विकल्पको छनोट गर्न नसक्नाले कारोबारबापत अधिक शुल्क तिर्नुपर्ने,
३. आफूले तिर्दै गरेको बिलमा उल्लिखित रकम यकिन नगर्ने साथै कुन–कुन शीर्षकमा कति रकम असुल भइरहेको जानकारी नराख्ने कारण अन्जानमा बढी रकम भुक्तानी गरिने र
४. अनलाइनमार्फत गरिने कारोबारमा रकम प्राप्त गर्नेको पूरा विवरण (नाम, खाता नम्बर, मोबाइल नम्बर) नहँुदै भेरिफिकेशन विना रकम ट्रान्सफर गर्नाले गल्ती हुने सम्भावना अधिक हुन्छ ।
माथि उल्लिखित अप्राविधिक पक्षको जोखिम न्यूनीकरणका लागि हामीले थोरै सावधानी र धैर्य राखी कारोबार गरेमा उक्त नोक्सानी कम गर्न सकिन्छ । तर, हामीले गर्ने विद्युतीय भुक्तानीमा विभिन्न पक्ष र उपकरण आबद्ध हुने भएकाले एकपक्षीय रूपमा गरिने सावधानी मात्र पर्याप्त हुँदैन । हाम्रो अनलाइन उपस्थितिलाई अझ सुरक्षित र भरपर्दो बनाउन ध्यान दिनुपर्ने केही पाटा यस प्रकार छन् :
पासवर्ड सुरक्षा : विद्युतीय प्रणालीमा सुरक्षाको कुरा गर्दा बारम्बार जानकारीमा आए तापनि बेवास्ता गर्ने पक्ष पासवर्डको सुरक्षा रहेको छ । हामीले प्रयोग गर्ने वालेट, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमा अरूले अनुमान लगाउन नसक्ने खालको पासवर्ड मात्र प्रयोग गर्ने र फरकफरक सेवाका लागि अलगअलग पासवर्ड प्रयोग गर्ने गर्नुपर्छ । यसरी राखिएको पासवर्ड नियमति रूपमा परिवर्तन गर्नुका साथै कुनै पनि पासवर्ड नोटकापीमा लेख्नु हुँदैन । यदि पासवर्ड लेखेरै राख्नुपर्ने भएमा पासवर्डमा रहेका सम्पूर्ण अंक र अक्षरहरू नलेखी आफूलाई सम्झन सहयोग पुर्याउने गरी आधा भाग मात्र वा सूत्रका रूपमा लेखिराख्न सकिन्छ । कम्प्यूटर तथा मोबाइलको ब्राउजरले उपलब्ध गराउने पासवर्ड व्यवस्थापन सेवा निकै कमजोर र जोखिमपूर्ण हुने कारण सो को प्रयोग नगर्नु बुद्धिमानी हुन्छ ।
भुक्तानी कार्ड तथा मेशिन : एटीएम मेशिनका साथै पस मेशिनमा कार्ड प्रयोग गर्दा कार्डको डाटा र पिन चोरी गरी नक्कली कार्ड बनाउने गिरोह व्यापक रूपमा सक्रिय रहेका कारण हरेक एटीएम बुथ र मर्चेन्टले पेश गर्ने पस मेशिनमा अनावश्यक सतह थपिएको वा उपकरण जोखिमपूर्ण रहेको छ/छैन निक्र्योल गरेर मात्र कार्ड प्रयोग गर्ने गर्नुपर्छ ।
क्यूआरमार्फत भुक्तानी गर्दा अपनाउने सावधानी : ...





