२२ मंसिर, काठमाडौं । विश्व वित्तीय क्षेत्रमा यतिबेला अमेरिकी डलरको दबदबा छ । विश्वका अधिकांश मुलुकले अमेरिकी डलरमा अन्तर्राष्ट्रिय कारोबार गर्छन् । तर, चीन विश्वका वित्तीय क्षेत्रमा रहेको अमेरिकाको एकाधिकार तोड्न चाहन्छ ।
साथै, विश्व वित्तीय बजारमा आफ्नो मुद्राको नियन्त्रण कायम गर्न चाहन्छ । यी दुवै योजनामा चीनको डिजिटल मुद्राले महत्वपूर्ण सहयोग गर्ने धेरैको बुझाई छ ।
केही वर्षको तयारीपछि चीनले आफ्नो महत्वाकांक्षी डिजिटल मुद्राको परीक्षण सुरु गरेको छ । चीनले यसवर्षको सुरुवातमा थालनी गरेको परीक्षण अहिले चीनको चार सहरमा चलिरहेको छ ।
अहिलेसम्म यी सहरहरुमा यो मुद्राको समग्र कारोबार दुई अर्ब युआन (३० करोड डलर) नाघिसकेको छ । यो कार्यक्रम राष्ट्रव्यापीरुपमा फैलिए चीन राष्ट्रिय डिजिटल मुद्राको कारोबार गर्ने सबैभन्दा ठूलो अर्थतन्त्र बन्नेछ । यसले युरोपेली केन्द्रीय बैंकले ल्याउँदै गरेको युरोको डिजिटल भर्सनलाई पछि पार्नेछ ।
चीनले आफ्नो डिजिटल युआनको माध्यमबाट कारोबार गर्नु निकै सहज र सुरक्षित हुने बताउँदै आएको छ । अधिकारीहरुका अनुसार यसले बैंकको खाता र परम्परागत वित्तीय सेवामा पहुँच नभएका मानिसहरुलाई पनि सहयोग गर्नेछ ।





