नेपाल राष्ट्र बैंकले सेयर बजारमा चलखेल गर्ने गिरोहले मौद्रिक नीतिको समिक्षाको अपव्याख्या गरेर बजार घटाएको आरोप लगाएको छ। मौद्रिक नीतिको समिक्षामा 'शेयर धितो कर्जा तथा रियल स्टेट कर्जामा पुनरावलोकन गर्ने' उल्लेख भएपनि यसको अर्थ मार्जिन प्रकृतिको कर्जाको सिमा घटबढ गर्ने मात्र नहुने राष्ट्र बैंक स्रोतले जनाएको छ।
राष्ट्र बैंक स्रोत भन्छ, 'बजार आफु अनुकुल बनाउनलाई यसपटक मौद्रिक नीतिको समिक्षालाई अस्त्र बनाइएको छ, मार्जिन प्रकृतिको कर्जाको सिमा घटाउने मात्र नभई बढाउने पनि हुन सक्छ र पुनरावलोकन भनेको कर्जाको सिमा घटबढ मात्र होइन, कर्जाको प्रकृति र प्रकृया पनि हो।'
आफुहरुले समिक्षामा पुनरावलोकन गर्ने भनेपनि आजको भोलि नै सर्कुलर जारी गरिहाल्ने अर्थ लगाइएको प्रति आपत्ति जनाउदै स्रोत भन्छ, 'चलखेल गर्ने गिरोहलाई कारण चाहिन्छ, यस पटक त्यो कारण मौद्रिक नीतिको समिक्षामा उल्लेख बुँदा भयो, तर सर्कुलर जारी हुनुपूर्व अध्ययन अनुसन्धान आवश्यक पर्छ र त्यसपश्चात सरोकारवालासँग छलफल गर्नुपर्छ भन्ने कुरा सर्वसाधारण लगानीकर्ताले बुझ्नुपर्छ।'





