साताभित्र फाइभजीको फ्रिक्वेन्सी सिफारिस


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साताभित्र फाइभजीको फ्रिक्वेन्सी सिफारिस

काठमाडौँ — फाइभजी सेवाका लागि फ्रिक्वेन्सी निर्धारण गर्ने तयारी भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले आगामी साता फाइभजीका लागि फ्रिक्वेन्सी निर्धारण गर्ने तयारी गरेको हो । ब्रोडब्यान्ड मोबाइल नेटवर्क प्रविधिको पाँचौं पुस्ता केही देशमा परीक्षणका रूपमा सुरु भइसकेको भए पनि नेपालमा यसका लागि हालसम्म फ्रिक्वेन्सी निर्धारण भएको छैन ।

फोरम बैठकले आगामी शुक्रबारसम्ममा फाइभजीका लागि सबैभन्दा उपयुक्त फ्रिक्वेन्सी सिफारिस गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । प्राधिकरणका सञ्चालक सदस्य मणि चौलागाईं संयोजकत्वको फोरममा प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, फ्रिक्वेन्सी महाशाखाका निर्देशक अम्बर स्थापित, उपनिर्देशक प्रदीप पौडेलसहित सेवा प्रदायकका प्रतिनिधि सदस्य छन् ।

फोरममा नेपालमा दूरसञ्चार उपकरण बिक्री गरिरहेका चिनियाँ कम्पनी हुवावे र जेडटीईका प्रतिनिधि पनि समावेश छन् । फोरमले छलफल गरी नेपालका लागि फाइभजीलाई उपयुक्त फ्रिक्वेन्सी छनोट गरी प्राधिकरणलाई सिफारिस गर्ने र प्राधिकरणले सञ्चार तथा राष्ट्रिय फ्रिक्वेन्सी निर्धारण समितिसमक्ष सिफारिस गर्ने तयारी छ । फाइभजीका लागि छुट्याइने फ्रिक्वेन्सी देशअनुसार फरकफरक हुने भएकाले नेपालका लागि सुहाउँदो फ्रिक्वेन्सी सिफारिस गरिने समितिका एक सदस्यले जानकारी दिए । फाइभजी प्रविधि तटस्थ भएकाले जुनसुकै ब्यान्डमा पनि चलाउन सकिने उनले जानकारी दिए । ‘तल्ला ब्यान्डमा एक सेवा प्रदायकले २० मेगाहर्ज पाउने र मध्यम ब्यान्डमा एउटा सेवा प्रदायकलाई सय मेगाहर्जसम्म दिन सकिने विषयमा छलफल भइरहेको छ,’ ती सदस्यले भने, ‘माथिल्ला ब्यान्डमा भने एक सेवा प्रदायकलाई ८ सयदेखि हजार मेगाहर्जसम्म दिन सकिने अवस्था छ ।’

Read More