काठमाडौँ — इन्टरनेटको पहुँच र मोबाइलको बढ्दो प्रयोगका कारण पछिल्ला महिनामा विद्युतीय भुक्तानीको संख्या र परिमाण दुवै बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विशेष गरी साना र खुद्रा भुक्तानीका लागि सहज मानिने क्यूआर (क्विक रेस्पोन्स) कोडमा आधारित भुक्तानीको परिमाणसमेत नेपालमा उल्लेख्य बढेको राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकले प्रस्ट्याउँछ ।
असोजमा मात्रै क्यूआर कोडबाट मात्रै करिब १ अर्ब भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक छ । क्यूआर कोडमार्फत हुने भुक्तानीको संख्या र कारोबार रकम दुवै उल्लेख्य बढेको छ । राष्ट्र बैंकले साउनयता आफ्नो भुक्तानी तथ्यांकमा क्यूआर कोडमार्फत हुने कारोबारलाई समेट्न थालेको हो । राष्ट्र बैंकका अनुसार साउनमा क्यूआर कोडमार्फत करिब २ लाख भुक्तानी भएका थिए । भदौमा यो संख्या घटेर करिब १ लाख ८० हजारमा घटेको थियो । असोजमा भने क्यूआरमार्फत हुने भुक्तानीको संख्या २ लाख ६५ लाख नाघेको राष्ट्र बैंकको तथ्यांक छ ।




