काठमाडौँ — दुर्गम स्थानका वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा नि:शुल्क इन्टरनेट जडान गर्ने ब्रोडब्यान्ड परियोजनाअन्तर्गत देशभर ११ हजारभन्दा बढी स्थानमा नि:शुल्क इन्टरनेट जडान भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
परियोजनाअन्तर्गत इन्टरनेट नपुगेका देशभरका करिब १६ हजार स्थानमा जडान गर्ने योजना छ । कुल १५ हजार ९ सय ८२ स्थानमध्ये ११ हजार ८६ स्थानमा इन्टरनेट जोडिएको हो । इन्टरनेट जडानको काममा कात्तिक मसान्तसम्ममा ६९ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट परियोजना सञ्चालन गरेको हो ।
७७ वटा जिल्लालाई १८ वटा प्याकेजमा वर्गीकरण गरी इन्टरनेट जडानको काम भइरहेको प्राधिकरणले जनाएको छ । जसमध्ये १२ वटा प्याकेजअन्तर्गत ४६ जिल्लाका स्वास्थ्य चौकी, वडा कार्यालय र माध्यमिक विद्यालयमा इन्टरनेट जडानको काम शतप्रतिशत सकिएको हो ।




