कात्तिक २४, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) का अध्यक्ष भिष्मराज ढुङ्गानाले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुलाई ट्रेड म्यानेजमेण्ट सिष्टम (टिएमएस) लाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
आइतवार नवनिर्वाचित स्टक ब्रोकर एशोसिएशनका पदाधिकारीसँगको भेटमा अध्यक्ष ढुङ्गानाले यस्तो निर्देशन दिएका हुन् । धितोपत्र बजारको प्रतिष्ठा बढाउनमा ब्रोकरहरुको विशेष भूमिका हुने भन्दै उनले टिएमएसमा बैंक इन्टिग्रेशनको कार्य चाडै सम्पन्न गरी अन्तराष्ट्रिय स्तरको लगानीमैत्री बजार बनाउन आवश्यक रहेको बताए ।
अहिले लगानीकर्ताहरुको चर्को मागको रुपमा रहेको ब्रोकर कमिशनका सम्बन्धमा अध्ययन भइसकेकाले यसलाई सरोकारवाला पक्षहरुसँग छलफल गरी अन्तिम रुप दिन अध्यक्ष ढुङ्गानाले ब्रोकरहरुलाई भनेका छन् ।
मार्जिन कारोबारलाई विस्तार गरी धितोपत्रको तरलता प्रदान गर्ने औजारको रुपमा विकास गर्न , शाखा कार्यालयमार्फत दोस्रो बजारको पहँुच विस्तार गर्न, आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरी ऐन अनुसार व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउनसमेत अध्यक्ष ढुङ्गानाले ब्रोकरहरुलाई निर्देशन दिएका छन् ।





