दशैंअघि सम्म शेयर दोस्रो बजारमा हुने अनलाइन कारोबारमा पटक पटक समस्या आउने गरेको थियो।लगतार समस्या दोहोरिँदा दैनिक कारोबार समय नै केही दिन पाँच बजेसम्म पुर्याइयो। कारोबार समय मात्रै बढाइएन राफसाफ समयमा समेत त्यसले प्रभाव पार्यो।
ब्रोकर कम्पनीको टिएमएसले काम नगर्नु,गर्दा समेत ढिलो हुनु यो लगातारको समस्या थियो।
समस्या निरन्तर बढ्दै गएपछि यसमा सरकारले समेत चासो लियो।अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखाले नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जका प्रमुखलाई नै बोलाएर सोध पुछ समेत गर्यो । सोधपुछमा उनीहरूले एक अर्कालाई दोषारोपण मात्रै गरे। तर,उनीहरूले आउने दिनमा त्यस्तो समस्या आउन नदिने प्रयास गर्ने भनेर प्रतिबद्धता भने जनाए।
उनीहरूले प्रतिबद्धता जनाएर आएपछि पनि समस्या दोहोरियो । जसले सरकारको चिन्ता थप बढायो। त्यसपछि महाशाखा प्रमुख झक्क प्रसाद आचार्य त्यसै बस्न सकेनन्। उनी वास्तविक समस्या बुझ्न भन्दै आकस्मिक रूपमै नेप्सेको कार्यालय समेत गए। उनले त्यहाँ त्यस विषयमा दुई घण्टा भन्दा बढी छलफल गरे। नेप्सेले अत्याधिक बढेको लगानीकर्ताको चापका कारण यस्तो भएको र छोटो समयमै लगानीकर्ताको चाप निक्कै बढेको तर्क समेत अघि सार्यो। जसलाई गम्भीरता पूर्वक सुनिरहेका आचार्यले केही जवाफ हरूमा चित्त बुझाए केहीमा भने उनले चित्त बुझाउँदै बुझाएनन्। उनले चित्त नबुझाएको विषय थियो लगानीकर्ताको चाप बढेर समष्या अाएकाे कुरा।"नेप्सेको अनलाइन सिस्टमले एक मिनेटमै २० हजार भन्दा बढी कारोबार म्याच गर्ने क्षमता राख्ने भनिएको छ। तर दिनभरिमा २० हजार समेत कारोबार नहुँदै लोड किन बढी भयो ? यो अलि चित्त बुझ्दो भएन "आचार्यले प्रति प्रश्न गरे।





