कात्तिक २३, नयाँ दिल्ली (भारत) । भारतीय खुद्रा कम्पनी फ्यूचर रिटेलले व्यापार साझेदार अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजन डट कमलाई चुनौती दिएको छ ।
कम्पनीको ३ अर्ब ४० करोड डलरको सम्पत्ति विक्री सम्बन्धी एक सम्झौतामा एमाजनले हस्तक्षेप बन्द गर्नुपर्ने भन्दै कम्पनीले दिल्लीको एक अदालतमा अदालतमा मुद्दा हालेको छ । फयूचरले मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजलाई अगष्टमा खुद्रा सम्पत्ति बेचेको थियो । सो सम्झौताले सन् २०१९ मा फयूचर रिटेलले आफूसँग गरेको सम्झौताका सहमतिहरु तोडिएको एमाजनको भनाइ छ ।
आपसी सम्झौतामा विवाद उत्पन्न भएमा प्रयोग गर्न सहमति गरिएको सिंगापुरको मध्यस्थकर्ताले गत महीना रिलायन्ससँग फयूचरको सम्झौता रोक्न दिएको उजुरीमा एमाजनको पक्षमा फैसला गरेको थियो । तर सो आदेश बाध्यकारी नभएको फयूचरले बताएपछि एमाजनले भारतीय बजार नियामककहाँ ऊजुरी गरेको थियो ।
रिलायन्ससँगको सम्झौतामा हस्तक्षेप गर्न मध्यस्थताको दुरुपयोग गर्नबाट एमाजनलाई रोक लगाउन दिल्ली उच्च अदालतलाई फयूचरले आग्रह गरेको भन्दै स्टक एक्सचेञ्जमा पेश गरिएको एक फाइलिङमा फयूचरले भनेको छ । फाइलिङले चुनौतीबारे थप विवरण खुलाएको छैन । मुद्दामा यसले एमाजनबाट मात्रै छूटकारा खोजेको छ ।





