इशापूर्व देखि नै भारतमा प्रचलनमा रहेका मुद्राहरू कोर्षापण, पुराण, पण आदि मुद्राहरू लिच्छविकालमा प्रचलनमा आएका थिए । तावा निर्मित सबैभन्दा कम मुल्यको मुद्रा पण सबैभन्दा बढी प्रचलनमा थियो भने १६ तामाको पण बराबर हुने १ पुराण हुने सबैभन्दा बढी मुल्यको मुद्रा चांदीबाट निर्मित हुन्थ्यो । कोर्षापण पुराणकै अर्को नाम हो जुन चांदीबाट निर्मित हुन्थ्यो र १६ ताम्रपण वरावर १ कोर्षापण हुन्थ्यो । अंशुवर्माको अभिलेखमा वृतिका, मानक, गुणक, अंशुवर्मा, वैश्रवण, पशुपति, जिष्नुगुप्त, वृष नामक मुद्राको प्रयोग हुने पुष्टि हुन्छ । वि.सं १९६७–१९७६ मा तिलौराकोटमा गरिएको अध्ययनका अनुसार नेपालको सबैभन्दा पुरानो सिक्का कुसन, कनिक्षा र कविशा सिक्का पहिलो शताब्दीतिर नै प्रयोगमा आएको थियो । पन्च माक्र्ड सिक्काहरु भने छैटौँ/सातौँ शाताब्दी बीसी तिर प्रयोगमा आएको थियो ।
कसको पालामा कस्तो सिक्का ?
पाँचौँ शताब्दीमा राजा मानदेवको पालामा लिच्छवी सिक्काहरु प्रचलनमा ल्याइयो । मल्ल कालमा आएर मात्रै सिक्काको प्रयोगलाई व्यवस्थित बनाइयो । सोही समयमा २ मोहरलाई एक रुपैँया बराबरको मान्यता दिइयो । त्यस्तै, १ मोहर बराबर ५० पैसा, साँढे एक सुका बराबर ३६ पैसा, एक सुका बराबर २५ पैसा, एक सुक्की अथवा टिन्ननी बराबर १२ पैसा, आन्नी बराबर ६ पैसा, अधानी बराबर ३ पैसा र ४ दाम बराबर एक पैसा गरि पैसाको स्तर वर्गीकरण गरियो । वि.सं १५४५ मा दोलखाका राजा इन्द्रसिंह देवले नेपालमा पहिलोपटक एक तोला चाँदीबाट बनेको सिक्का बनाउन लगाए । महेन्द्र मल्लको शासनकालमा उपत्यकामा एक तोला चाँदीबाट बनेको सिक्का प्रयोगमा ल्याइयो जसलाई महेन्द्र मल्ली नाम दिइयो । हावाको बहावजस्तो देखिने फुकदम नामक चाँदीको सिक्का जयप्रकाश मल्लको शासनकालमा कान्तिपूर नगरीमा प्रयोगमा ल्याइएको थियो । सो सिक्काले संसारमै सबैभन्दा सानो सिक्काको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो स्थान बनाएको थियो । त्यस्तै, वि.सं. १७५४ मा पृथ्वी नारायण शाहको शासनकाल रहँदा पहिलो शाहकालीन मुद्राको रुपमा पहिलाने चाँदीको मोहर प्रचलनमा ल्याइयो । माथासिंहको छोटो शासनकालमा सुन, चाँदी, तामा, निकेल, ब्रास, एल्मुनियम लगायतका महँगा र विशेष किसिमका धातुहरु प्रयोग गरेर सिक्काहरु बनाइन्थ्यो । माथासिहं पश्चिमको खसिया राज्यका राजा थिए जसले वि.सं. १३२८ मा उपत्यकामा आक्रमण गरेका थिए । उनको पालामा माटाका सिक्काहरु पनि बनाइन्थे । ती सिक्काहरु कामदारहरुलाई टोकनको रुपमा दिइन्थ्यो । माटाको सिक्काहरु धेरै भएपछि उनीहरुले वास्तविक सिक्कासँग सो सिक्का साट्न पाउँथे । ...








