संसारभरि हरेक वर्षको अक्टोबर ९ तारिखका दिन विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा १ सय ४५ वर्षअगाडि सन् १८७४ मा जापानको टोकियोमा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको सम्झनामा सन् १९६९ देखि विश्व हुलाक दिवस मनाउन सुरु गरिएको थियो । मूलतः इन्टरनेटकै कारणले गर्दा आज विश्वको आयतन साँघुरिएको छ । हाल आएर संसारकै एक कुनादेखि अर्को कुनासम्म सञ्चारमाध्यमहरू सहज भएको छ । यी प्रविधिका कारणले गर्दा सम्भावनाका अनेक द्वारहरू खुलेका छन् । दैनिक जीवनयापनदेखि वित्तीय अभ्यास र राजनीतिक वृत्तमा समेत इन्टरनेटले खेलेको भूमिकालाई सीमित शब्दले व्याख्या गर्न असम्भव प्रायः भएको छ ।
यसरी विद्युत् चुम्बकीय तरंगमार्फत संसारभर छरिएका सूचनाहरू र हातहातमा बोक्न मिल्ने ल्यापटप र मोबाइलजस्ता उपकरणहरूले इन्टरनेटको साम्राज्य निर्माण गरेको छ । अब इन्टरनेटबिनाको संसार अकल्पनीय भइसकेको छ । महिनौं लगाएर आउने चिठीको प्रतीक्षामा बस्ने पुस्ता आफ्नो जीवनको उत्तराद्र्धमा परदेश बस्ने नातिसँग भिडियो च्याट गर्ने भएको छ । इन्टरनेटकै माध्यमबाट सूचना आज सर्वव्यापी भएको छ । संसारको जुनसुकै कुनामा भएका घटनाको सूचना आज मिनेटभरमा संसारभर फैलिन थालेको छ । कुनै पनि घटनाप्रति इन्टरनेटकै माध्यमबाट दिइने प्रतिव्रिmयाहरूले निकै चर्को दबाब सिर्जना गर्न थालेका छन् ।





