काठमाडौँ — पछिल्लो दुई वर्षमा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । दुई वर्षमा नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २३ प्रतिशत बिन्दुले बढेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । यो अवधिमा मोबाइलमार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या पनि करिब १६ प्रतिशत बढेको छ ।
०७५ असारमा ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड ४९ लाख ८१ हजार रहेकामा दुई वर्षमा यो संख्या बढेर २ करोड २२ लाख ३७ हजार पुगेको प्राधिकरणको तथ्यांक छ । प्रयोगकर्ता बढेसँगै इन्टरनेटमा पहुँच पाउने जनसंख्या प्रतिशत ७४.४३ पुगेको प्राधिकरणले जनाएको छ । यो ०७७ असारसम्मको तथ्यांक हो ।
करिब तीन चौथाइ जनसंख्यामा विद्युत् पहुँच पुगेको देखिए पनि फिक्स ब्रोडब्यान्ड इन्टरनेट भने १८ प्रतिशत जनसंख्यामा मात्रै पुगेको छ । फिक्स ब्रोडब्यान्ड इन्टरनेटलाई विश्वसनीय र द्रुत गतिको इन्टरनेट मानिन्छ । प्राधिकरणको तथ्यांकअनुसार करिब ५५ लाख जनसंख्यामा मात्रै फिक्स ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुगेको छ । ४५ लाख ३४ हजार जनसंख्याले फाइबर टू दी होम (एफटीटीएच) मार्फत इन्टरनेट पहुँच पाएको र साढे नौ लाख जनसंख्याले केबलमार्फत इन्टरनेटको पहुँच पाएको प्राधिकरणको तथ्यांक छ ।




