धितोपत्रको दोस्रो बजारलाई विश्लेषण गर्न विभिन्न प्रकारका सूचकांकहरुको गणना गरिदैँ आएको छ। जसमा नेप्से इण्डेक्स, सेन्सेटिभ इण्डेक्स, फ्लोट इण्डेक्स, सेन्सेटिभ फ्लोट इण्डेक्सलाई महत्वपूर्ण रहेका छन्। शेयर बजारमा हुने कारोबारसँगै दैनिक रुपमा यी सूचकहरु परिर्वतन हुने गर्छन्।
हाल नेपालमा नेप्से परिसूचकलाई बढी महत्वका साथ हेर्ने गरिन्छ भने अन्य सूचकलाई सर्वसाधारण लगानीकर्ताले त्यति प्राथमिकताका साथ हेर्ने गरेको पाइदैन। लगानीकर्ताहरुसँग उक्त इण्डेक्सहरुका बारेमा पर्याप्त जानकारी नहुँदा र पहिलेदेखि नै चलनमा रहेका कारण नेप्से इण्डेक्सलाई महत्वका साथ हेर्ने गरेका छन्। यद्यपी, सर्वसाधारण लगानीकर्ताहरुले नेप्से परिसूचकका साथै फ्लोट इण्डेक्स पनि हेर्न जरुरी हुन्छ र उनीहरुका लागि फ्लोट इण्डेक्स पनि महत्वपूर्ण हुन्छ।
नेप्से इण्डेक्सभन्दा फ्लोट इण्डेक्सले कारोबारयोग्य शेयरको यथार्थपरका जानकारी दिने भएकोले फ्लोट इण्डेक्सलाई बढी ध्यान दिनुपर्ने नेप्सेका प्रबन्धक निरन्जन फुँयाल बताउँछन्। उनले भने, ‘फ्लोट इण्डेक्स भनेको सर्वसाधारणलाई जारी गरेको शेयरहरुको सूचक हो। यसले कारोबारयोग्य शेयरको बढी प्रतिनिधित्व गर्छ। नेप्से इण्डेक्समा सबै शेयर समावेश हुन्छ, तर ती सबै कारोबारयोग्य छैन। नेप्सेमा सूचीकृत झण्डै ५५ प्रतिशत शेयर कारोबारयोग्य छैन। यो ५५ प्रतिशत शेयर पनि राखेर इण्डेक्स गणना गरिने हुदाँ नेप्सेले सर्वसाधारणको सेन्टिमेन्ट इन्टेक्स गर्न सक्दैन।’ ...








