काठमाडौं । भुक्तानीको माध्यम क्रमशः डिजिटलाइज्ड हुँदै गर्दा नेपालमा पनि ईकमर्श कारोबारमा आकर्षण बढेको छ । ईकमर्श अर्थात् इन्टरनेटको प्रयोगबाट हुने वस्तु तथा सेवा किनबेचबापत भुक्तानी गर्ने प्रक्रियामा गत साउन महीनामा मात्रै १ लाख ६८ हजार ६२७ पटक कारोबार गरेका छन् । यस्तोे कारोबार रकम भने रू. १ अर्ब २० करोड बराबरकोे छ ।
नेपाल राष्ट्र बैंकले पहिलोपटक यस्तो तथ्यांक सार्वजनिक गरेको हो । साथै, विद्युतीय भुक्तानी माध्यममध्ये सबैभन्दा बढी कारोबार वालेटबाट भएको छ । साउनमा मात्रै १ करोड १ लाख ७७ वालेट कारोबारमार्फत रू. ७ अर्ब ५७ हजार बराबरको भुक्तानी भएको छ ।
ईकमर्शमार्फत भएको भुक्तानीमा डेविट कार्ड, क्रेडिट कार्ड, पिन कार्डको नम्बरबाट ईकमर्श शीर्षकमा भुक्तानी गरेका सबै कारोबारलाई समेटेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बताएको छ । विभागका अनुसार विशेष गरेर पहिला नै निश्चित भएको भुक्तानी मूल्यहरूका लागि कार्डको नम्बर प्रयोग गरेर ईकमर्शमार्फत भुक्तानी गरिन्छ । यस्तो विद्युतीय भुक्तानी तथा ईकमर्शको सुविधा दिँदै आएका बैंक तथा वित्तीय संस्था, ईसेवा, खल्ती, आईएमई पे, फोन पे जस्ता भुक्तानी प्रदायक संस्था र नेपाल क्लियरिङ हाउसजस्ता भुक्तानी सञ्चालक संस्थाहरूमार्फत भएको कारोबारको आधारमा तथ्यांक सार्वजनिक गरेको विभागका कार्यकारी निर्देशक भुवन कँडेलले जानकारी दिए ।...





