काठमाडौँ — नेपाल टेलिकमले आगामी पुसभित्र मोबाइल ब्यालेन्सबाटै भुक्तानी गर्न मिल्ने सेवा सुरु गर्ने तयारी थालेको छ । मोबाइल मनी सेवा सुरु गर्न आवश्यक हार्डवेयर र सफ्टवेयर खरिदका लागि गरिएको ठेक्काको आर्थिक प्रस्ताव शुक्रबार खोलिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।
प्राविधिक मूल्यांकन सकिएपछि १० दिनभित्र ठेक्काको नतिजा सार्वजनिक गरिनेछ । ‘प्राविधिक मूल्यांकनपछि ठेक्का नतिजा आउँछ र सम्झौता भएको तीन महिनाभित्र काम गर्ने गरी सम्झौता गर्नेछौं,’ उनले भने, ‘पुसभित्र सेवा सुरु गर्ने योजना छ ।’ मोबाइलमा रहेको ब्यालेन्सबाटै भुक्तानी गर्न सकिने सेवा सुरु गर्न राष्ट्रिय वाणिज्य बैंक र टेलिकमले संयुक्त रूपमा छुट्टै कम्पनी स्थापना गरेका छन् । मोबाइल मनी सेवा सुरु गर्न टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले गत माघ १४ मा अनुमति दिएको थियो । त्यसलगत्तै माघ २५ मा एनसेललाई पनि प्राधिकरणले यस्तै खालको सेवा सुरु गर्न अनुमति दिएको थियो ।
भुक्तानी सेवा सुरु गर्न नेपाल राष्ट्र बैंकले टेलिकमलाई अनुमति दिइसकेको छ । राष्ट्र बैंकले साउन पहिलो साता टेलिकमलाई ६ महिनाभित्र मोबाइल मनी सेवा सुरु गर्ने गरी भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरेको थियो । अनुमतिपत्रमा भएको सर्तअनुसार टेलिकमले ६ महिनाभित्र सेवा सुरु गर्नै पर्छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकका लागि थप कम्पनीलाई अर्को निर्णय नभएसम्मका लागि अनुमतिपत्र नदिने निर्णय गरेको थियो ।
मोबाइल मनी सुरु गर्न आवश्यक सफ्टवेयर र हार्डवेयर खरिदका लागि टेलिकमले गरेको टेन्डरमा ६ वटा कम्पनीले सहभागिता जनाएका थिए । टेन्डरमा चिनियाँ कम्पनी सेन्जेन किङ्डम, भारतको सिक्सडी, कमभिभा, वाननाइन्टी सेभेन, अमेरिकी कम्पनी पानाम्याक्स र सिमलेस कम्पनी सहभागी थिए । ...




