काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै वडा–४ धुम्बाराहीका मदन कोइरालाले केही दिन अघि मात्रै वडा कार्यालयमै पुगेर अनलाइनमार्फत सम्पत्ति कर शीर्षकमा भुक्तानी गरे ।
विगतका वर्षहरुमा लामो समयसम्म लाइनमा बसेर निकै झण्झटिलो तरिकाले कर तिर्दै आएका कोइरालाले पहिलो पटक अनलाइनमार्फत लाइन नवसी कर तिर्न पाउँदाको खुशी साट्दै भने, ‘अहिले कोभिड–१९ को महामारी चलिरहेका बेला विना भिडभाड अनलाइनमार्फत कर भुक्तानी गर्न पाउँदा उत्साहित छु ।’
कोइरालाले पढे–लेखेकाहरुका लागि यो प्रणाली निकै प्रभावकारी भए पनि साधारण लेखपढ गर्नसम्म मुस्किल पर्नेहरुका लागि भने समस्या हुने हो कि भन्ने संसय व्यक्त गरे । त्यस्ता करदातालाई समेत अनलाइनमार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विकास गर्ने हो भने प्रभावकारी हुने उनको भनाई छ । पहिलो पटक भएकाले आफू कार्यालयमै पुगेर भुक्तानी गरेको भन्दै कोइरालाले आगामी दिनमा घरमै बसेर भुक्तानी गर्न सकिनेमा आफू आशावादी रहेको भन्दै महानगरपालिकाको यो पहल सकारात्मक भएको प्रतिक्रिया दिए ।...





