दूर शिक्षणका धेरै विकल्पमध्ये ई–शिक्षण एउटा विकल्प हो भने दूर सिकाइका धेरै विकल्पमध्ये ई–सिकाइ एउटा। सूचना कहरले ई–शिक्षण तथा ई–सिकाइको सीमारेखा नै बिर्सेर दुवै प्रकारलाई एकै ठाउँमा राखेर ई–सिकाइ बनाइदिएको छ।
उत्प्रेरक वक्ता बब प्रोक्टरको भनाइ छ–संसारको जुनसुकै कुनामा रहेका सबैखाले आर्थिक हैसियतका नागरिकले बिहानै उठ्नेबित्तिकै तीनवटा पक्षमा मात्र सोच्छन्। पहिलो दैनन्दिन आर्थिक समस्याको समाधान कसरी गर्ने ? दोस्रो त्यसको समाधानका लागि आजका दिन केके काम गर्ने ? अन्तिम व्यक्तिगत उत्साह तथा खुसीका लागि आज कोकोसँग संगत गर्ने अथवा भेटघाट गर्ने ? यिनै कुराबाटै विचार सिर्जित हुन्छ भने विचारले नै यी कुरा अघि बढाउन पनि मद्दत गर्छ। यो विचार शृंखला ब्रिटिस दार्शनिक थोमस हब्सका अनुसार तीनवटा सिद्धान्तबाट प्रेरित हुन्छ। पहिलो ईश्वरको अनुकम्पा अथवा लीलाबाट प्रकट भएको दैवी सिद्धान्त। दोस्रो प्रकृतिले निर्धारण गरेको प्राकृतिक सिद्धान्त र तेस्रो यी दुवै सिद्धान्तको मध्यस्थ तर्क तथा विज्ञानसम्मत सकारात्मक सिद्धान्त। राजनीतिक तथा सामाजिक परिप्रेक्षमा राष्ट्रको एन, कानुन, नीति, नियम तथा पद्धतिलाई सकारात्मक सिद्धान्त मानिन्छ। यो मानिसले तर्क तथा विज्ञानका आधारमा निर्माण गरेका हुन्छन्। यसैका आधारमा प्रकट हुने विचार नै सकारात्मक विचार हो। यो आलेखमा यही सकारात्मक सिद्धान्तबाट सिर्जित विचार र यसको सम्प्रेषणले कोरोना कहरमा कस्तो भूमिका खेल्छ भन्नेबारेमा चर्चा गरिनेछ।





