काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहकको मोबाइल वालेटमा रहेको मौज्दात रकममा ब्याज प्रदान गर्न बाटो खुला गरेपछि भुक्तानी प्रदायक कम्पनीहरू उक्त सेवा दिने योजनामा छन् ।
गत जेठमा जारी भएको भुक्तानी तथा फस्र्योट विनियमावली, ०७७ ले उक्त सेवा प्रदान गर्न इच्छुक संस्थाले राष्ट्र बैंकबाट स्वीकृति लिन पाउने व्यवस्था गरेको थियो ।
सामान्यतया मोबाइल वालेटमा निक्षेप राख्ने उद्देश्यले सञ्चालन गर्न पाइँदैन । उक्त व्यवस्था भएपछि अधिकांश भुक्तानी सेवाप्रदायक संस्थाहरूले चासो देखाएर सोधपुछ गरेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बताएको छ ।
तर, विनियमावली जारी हुनुअघि नै आईएमईपेले भने वालेटमा न्यूनतम मौज्दात भएका आफ्ना ग्राहकलाई ब्याज दिँदै आएको छ ।
आईएमई डिजिटल सोलुसन लिमिटेडको नाममा आईएमई पेले ०७४ असार ५ गते केन्द्रीय बैंकबाट कारोबारका लागि अनुमति प्राप्त गरेको थियो । यसको एक वर्षपछि ग्राहकलाई वालेटमा भएको न्यूनतम मौज्दात (ब्यालेन्स)मा ब्याजको सुविधा दिन आवेदन हालेको थियो ।
उक्त आवेदनलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि यसको प्राविधिक व्यवस्था मिलाउन समय लागेकाले गत चैतदेखि मात्र सेवाग्राहीलाई बालेटको मौज्दातमा ब्याज दिन दिन थालिएको आईएमई पेका कम्प्लायन्स मेनेजर सुदीप सिग्देलले बताए । ...





