काठमाडौं । छिमेकी मुलुक भारतकोभन्दा नेपाल प्रयोग हुने मोबाइल डेटा दश गुणा महँगो भएको एक सर्वेक्षणले देखाएको छ । केवल यूकेले विश्वव्यापी रुपमा गरेको तुलनात्मक सर्वेक्षणमा नेपाल र भारतको मोबाइल डेटामा करीब हजार प्रतिशत (९५५.५५ प्रतिशत)को मूल्य अन्तर देखिएको हो । छिमेकी मुलुक भारतले विश्वकै सस्तो मोबाइल डेटा प्रयोग गरिरहँदा नेपालले भने भारतको भन्दा करिब दश गुणाले बढी महँगो मोबाइल डेटा प्रयोग गरिरहेको छ ।
सर्वेक्षणले भारतमा एक जीबी डेटा प्याकेजको औषत मूल्य ०.०९ अमेरिकी डलर (१०.६६ रुपैयाँ) मात्र पर्छ । अझ त्यहाँको सबैभन्दा सस्तो ३० दिने प्याकेजमा प्रति जीबी ०.०२ अमेरिकी डलर (२.३५ रुपैयाँ) मात्र पर्न आउँछ । नेपालमा भने १ जीबी डेटाका लागि औषत रुपमा १०४.५३ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको छ ।
सर्वेक्षणमा विभिन्न भारतीय मोबाइल सेवाप्रदायकका ६० वटा डेटा प्याकेजलाई समावेश गरिएको थियो भने नेपाली मोबाइल सेवा प्रदायक कम्पनीका कुल ३४ वटा डेटा प्याकेज समेटिएको थियो । नेपालमा सबैभन्दा सस्तो प्याकेज डेटाको लागि प्रति जीबी ३१.९२ रुपैयाँ खर्च गर्नुपर्छ ।
...





