राष्ट्रिय वाणिज्य बैंकमा मर्ज भएकाे एनआइडिसिका शेयरधनीलाइ संस्थापक शेयरधनीकाे मान्यता नदिएर सर्वसाधारणकै रूपमा राखिने भएकाे छ।
प्राथमिक शेयर (आइपिओ) नै निष्काशन नगरेको राष्ट्रिय वाणिज्य बैंकमा चार सय ४५ शेयरधनी थपिने भएका छन्। तत्कालीन एनआइडिसिका सर्वसाधारण शेयरधनी वाणिज्य बैंककाे शेयरधनी बन्न लागेका हुन्।
सर्वोच्च अदालतको फैसला बमोजिम उनीहरूलाई शेयरधनी बनाउन लागिएको हो। उनीहरूलाई शेयर दिने निर्णय बैंकले गरिसकेको छ। "सर्वोच्चको निर्णय अनुसार शेयर दिने निर्णय भएको छ" राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले मेरो लगानीसँग भने।
सर्वसाधारण शेयरधनीमध्ये सबैभन्दा धेरै शेयर भएका शेयरधनी प्रमोद कुमार चौधरीलाई शेयर दिने निर्णय गरिएको हो। उनको बैंकमा ३० हजार नौ सय ३० कित्ता शेयर छ। उनलाई बैंकको आधिकारिक शेयरधनी बनाउने तयारी अन्तिम चरणमा पुगेको छ।
चौधरी साधारण शेयरधनी भएमा अन्य शेयरधनीको पनि वाणिज्य बैंकको शेयरधनी बन्ने बाटो खुल्ने छ। चौधरीकै नजिरमा टेकेर अन्यलाई पनि बैंकले शेयरधनी बनाउनु पर्नेछ।
तत्कालीन एनआइडिसि र वाणिज्य बैंक एक बराबर एकको अनुपातमा मर्ज भएका हुन्। मर्ज भई एकीकृत कारोबार गर्नु पूर्व वाणिज्य बैंकले सबै पब्लिक शेयर खरिद गरिदिने भन्दै सार्वजनिक सूचना निकालेको थियो। तर, कसैले पनि शेयर बिक्री गर्न नचाहेपछि वाणिज्य बैंकले २०७५ वैशाख १९ बाट एकीकृत कारोबार शुरु गरेको थियो।






