कोरोनाको जोखिम देखिए पनि अहिले अधिकांश बैंकका ग्राहकहरू नगदका लागि एटिएमअगाडि लाइन बस्न बाध्य छन् । एटिएम प्रयोग गर्दा नम्बर तथा आदेशहरूका लागि बारम्बार बटन थिच्नपर्ने हुन्छ । बैंकहरूले ग्राहकको सुरक्षाका लागि सबै एटिएममा स्यानिटाइजरलगायतका सुरक्षाको व्यवस्था पनि नगरेको पाइन्छ ।
महामारीलाई ध्यानमा राखेर बैंकहरूले मोबाइल एप्समार्फत नै एटिएम प्रयोग गर्ने प्रविधि भित्र्याउने भएका छन् । छुँदासमेत संक्रमण हुन सक्ने कोभिड–१९ जस्तो महामारीको जोखिमबाट बच्न यस्तो प्रविधि उत्तम हुने सानिमा बैंकका आइटी विभाग प्रमुख विक्रम श्रेष्ठले बताए । ‘यो सुविधा दिन एटिएम मेसिनलाई फेर्नुपर्दैन, सफ्टवेयर विकास गरे हुन्छ,’ उनले भने, ‘हामी यसमा काम गरिरहेका छौँ, ५–६ महिनामा प्रयोगमा ल्याउन सक्छौँ ।’ मोबाइलमा रहेको क्युआर कोडको प्रयोग गरेर एटिएम बुथबाट नगद झिक्न सकिने उनले जानकारी दिए ।
अहिले एटिएम प्रयोग गर्दा पहिले पिन हाल्नुपर्छ । त्यसपछि नगद झिक्ने वा विवरण हेर्ने बटन थिच्नुपर्छ । नगद झिक्ने भए फेरि चाहिएको रकमका लागि अंक थिच्नुपर्छ । यसरी पटक–पटक हातले मेसिन छोइरहँदा संक्रमणको जोखिम हुन्छ । त्यस्तै, एटिएममा संक्रमण सुरक्षाका लागि राखिएको स्यानिटाइजरलगायत चोरी हुने समस्यासमेत रहेकाले सेवाप्रदायकहरू नयाँ प्रविधितर्फ आकर्षित भएका छन् ।
अहिले १८ वटा वाणिज्य र विकास बैंकहरूका लागि एटिएममा कार्ड स्विचिङ सेवा दिइरहेको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सर्भिस (नेप्स)ले पनि यस्तो प्रणालीको विकास गर्ने तयारी गरिरहेको छ । ‘विश्वका विभिन्न मुलुकमा धेरैअघिदेखि यो प्रणाली प्रचलनमा रहेछ, संक्रमणको अवस्थामा नेपालमा पनि यो प्रणाली विकास गर्नुपर्ने सोच आएको हो,’ नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले भने । ...





