सेवा प्रदायकहरुले इन्टरनेटको स्पीड स्लो हुनुमा आफुहरुको मात्रै कमजोरी नभएको बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले विदेशबाट ल्याउने व्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एप लगायतमा आउने समस्याका कारणले गर्दा समेत इन्टरनेट स्लो हुन सक्ने बताएका हुन् ।
अन्तरक्रियामा सुबिसु केवल नेट प्रालीका सीईओ विनयमोहन साउदले भारतका टाटा, एअरटेल लगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमता भन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताए ।
‘ग्राहकको गुनासो जायज नै हो, इन्टरनेट सेवा प्रदायकहरुले चर्को प्रतिष्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्, तर धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन् । हामी त उपभोक्ता र सर्भर वा एपबीचको पूल मात्रै हौं । तीन वटा पक्षमध्ये एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ, तर गाली खाने हामी मात्रै हुन्छौं,’ सीईओ साउदले भने ।
साउदले ग्राहकको गुनासो सम्बोधनका लागि सबै सेवा प्रदायकले काम गरिरहेको र यसमा आफूहरुको पहलले मात्रै पुर्ण समाधान नआउने बताए । ‘कुनै बेला फेसबुक, युटुव, टिकटक लगायतका प्लेटफर्ममै समस्या आएको हुन्छ । तर उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्नुहुन्छ । हामीले फेसबुक, टिकटक, युटुवको समस्या समाधान गर्न सक्दैनौं नी,’ उनले अगाडि भने ।
...





