मुलुकको अग्रणी वाणिज्य बैंक नबिल बैंकले साउन १३ देखि आफ्नो डिजिटल बैंकिङलाई विस्तार गर्यो । ‘स्क्यान एन्ड विड्र’ नामको नयाँ सुविधा सञ्चालनमा ल्याउँदै चेकविनै आफ्नो खाताबाट पैसा निकाल्ने प्रविधि नबिलले शुरू गर्यो ।
नबिल बैंकको एपमा लगइन भएर त्यहाँ भएको स्क्यानरमार्फत बैंकको काउन्टरमा राखिएको कोडमा स्क्यान गरी खाताबाट पैसा झिक्न सहज बनायो नबिलले । स्क्यान गरेपछि मोबाइल बैंकिङको पासवर्ड तथा झिक्न चाहेको रकम हालेर बुझाएपछि पैसा पाइने व्यवस्था ‘स्क्यान एण्ड विड्र’ले दिएको छ । कोरोना महामारीका कारण भौतिक दूरी कायम गर्नुपर्ने तथा सुरक्षित बैंकिङका लागि ल्याइएको यो सेवा डिजिटल बैंकिङकै एउटा पाटो हो । कोरोना संक्रमण नियन्त्रण गर्न शुरूको ४ महीना लामो बन्दाबन्दी तथा पछिल्लो निषेधाज्ञाका कारण अधिकांश व्यवसाय ठप्प रहे पनि डिजिटल बैंकिङले भने फस्टाउने राम्रो मौका पायो ।
भौतिक दूरी कायम गर्नुपर्ने बाध्यताका कारण यसअघि डिजिटल माध्यमको प्रयोग नगर्ने सर्वसाधारण यसको प्रयोग गर्न बाध्य बने । नतीजा, बिजुलीको बिल, खानेपानी, मोबाइल रिचार्ज, इन्टरनेट, बीमा, किनमेललगायत सबै कारोबारमा डिजिटल बैंकिङ नै सबैको सहयोगी बन्न पुग्यो महामारीको यो समयमा कारोबार डिजिटल बैंकिङ मार्फत गर्नुपर्ने बाध्यता भए पनि अब यसलाई व्यावसायिक भुक्तानीको मुख्य माध्यम नै बनाउनुपर्ने समय आएको सरोकारवालाहरू बताउँछन् ।





