विश्वमा डिजिटल बैंकिङको प्रारम्भविन्दु भनेर सन् ६० को दशकलाई मानिन्छ, जतिबेला पहिलोपटक एटीएम तथा एटीएम कार्ड प्रयोगमा आएको थियो । त्यसपछि सन् ९० को दशकमा इन्टरनेटको विस्तार हुँदै गएपछि यसले पनि गति समात्दै गएको देखिन्छ ।
डिजिटल प्रविधिको विकास र विशेष गरी मोबाइल फोनको तीव्र फैलावटका कारण अहिले बैंकिङ पहुँचलाई व्यापक रूपमा जनस्तरमा विस्तारित गर्न त्यसले यथेष्ट प्रोत्साहन दिएको छ । मोबाइलबाटै बैंकिङ कारोबार गर्न सकिने भएपछि यसैको लाभ लिनसमेत व्यक्तिहरू बैंक खाता खोल्न प्रेरित हुन सक्छन् । फेरि सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताजस्ता सुविधाका लागि समेत बैंक खाता अनिवार्य गरेको परिप्रेक्ष्यमा बैंकिङ पहुँच केही वर्षअगाडिको सापेक्षमा निकै नै बढेको छ । यसरी डिजिटल कारोबारले गर्दा एकातिर खाता खोल्न प्रोत्साहन गरेको छ भने अर्कोतिर सबै नेपालीको बैंक खाता भन्ने सरकारी लक्ष्यप्राप्त गर्ने दिशामा समेत प्रशस्त योगदान दिएको छ ।





