१६ भदौ, काठमाडौं । कर कार्यालयले दिएको करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब करदाताले घरमै बसेर कम्प्युटरको माध्यमबाट हेर्न सक्ने भएका छन् ।
आन्तरिक राजस्व विभागले वेवसाइट अध्यावधिक गर्दै करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको खोजी गर्न सकिने प्रणाली राखेको छ । वेबपोर्टलबाट आफ्नो प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेपछि प्रमाणपत्रले आधिकारिकता पाए-नपाएको हेर्न सकिने गरी प्रणाली विकास गरिएको हो ।
पछिल्लो समय विभागले कर बुझाउन कर कार्यालयमै धाउनु पर्ने बध्यता हटाउँदै बैंक वा विद्युतीय भुक्तानीका माध्यमबाट समेत कर तिर्न सकिने प्रणालीको विकास गरेको थियो ।
सोही अनुसार करदाताले कर तिरिसकेपछि आफैं करचुक्ता प्रमाणपत्र डाउनलोडसमेत गर्न सक्छन् । सोही प्रमाणपत्रको आधिकारिकता जाँच वेबपोर्टलबाट गर्न सकिने भएको छ ।
विभागले प्रारम्भमा साना करदाताका लागि विद्युतीय माध्यमबाटै करचुक्ता प्रमाणपत्र समेत जारी हुने गरी प्रणाली बनाएको हो । यसका लागि विभागको एकीकृत कर प्रणालीमा विद्युतीय कर चुक्ता प्रमाणपत्र माग गर्न सकिने गरी प्रणाली बनाइएको छ ।





