अन्तरराष्ट्रिय जगत् अहिले कागजविहीन बैंकिङ प्रणालीमा कसरत गर्दै गरेको देखिन्छ । हिजो अमेरिकामा रहेका ठूलाठूला भवनका बैंकहरू अहिले एउटा अपार्टमेन्ट जत्रो क्षेत्रफलबाट सञ्चालन भइरहेको देखिन्छ । जेपी मोर्गान, बैंक अफ अमेरिका, वेल्स फार्गो बैंक, सिटी बैंक या यूएस बैंक यी सबैले आफ्ना शाखाहरू बन्द नै गरेका थिए । औसतमा यी बैंकले करीब ८ प्रतिशत शाखा बन्द गरे । नेपालमा भने फरक प्रसंग छ ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेको बैंक र बैंकमा कार्यरत कर्मचारीमा पनि संक्रमण लगातार पुष्टि भइरहँदासमेत १० कित्ता शेयर पर्ने आशमा आएका आवेदकहरूले बैंकमा भीड बढाइदिँदा पेपरलेस बैंकिङको बहस, विचार, उद्देश्य र यथार्थ बीचको अन्तर स्पष्ट देखाइदियो । नेपालमा किन अझै वित्तक्षेत्र डिजिटल प्रणालीबाट बाहिर छ भनी बुझ्न आवश्यक छ । डिजिटल वित्तप्रणाली अन्य देशमा व्यापक भए पनि नेपाल अझै प्रविधिमैत्री हुन सकेको छैन ।





