एटिएम सेवामा शुल्क लिन नपाउने व्यवस्था लागू भएपछि सरकारी लगानीको कनेक्ट आइपीएसले लिंदै आएको सेवा शुल्कमाथि समेत प्रश्न उठेको छ। राष्ट्र बैंकले बैंकहरुलाई एटिएम सेवामा शुल्क लिन नपाउने व्यवस्थागरेपछि राष्ट्र बैंककै प्रवर्द्धनमा संचालित कनेक्ट आइपीएसलाई समेत निशुल्क सेवा दिन दबाब बढेको हो।
राष्ट्र बैंकले पेमेन्ट तथा सेटलमेन्टको एकिकृत निर्देशिका जारी गर्दै अन्तर बैंक एटिएमको कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेपछि उसकै नेतृत्त्वमा संचालित कनेक्ट आइपीएसको सेवा समेत निशुल्क हुनुपर्ने आवाज उठेको हो। बैंकहरुले बिगतमा आफ्ना ग्राहकलाई निशुल्क एटिएम सेवा दिंदै आएपनि राष्ट्र बैंकले अन्तर बैंक एटिएमको कारोबार शुल्क समेत लिनलाई रोक लगाएको हो।
नेपाल राष्ट्र बैंकको लगानी तथा नेतृत्त्वमा कनेक्ट आइपीएस २०६५ पुष देखि संचालनमा आएको पब्लिक कम्पनी हो। कनेक्ट आइपीएस राष्ट्र बैंकद्वारा प्रवर्दित कम्पनी भएपनि ग्राहकबाट उठाउदै आएको शुल्कका कारण प्रत्येक बर्ष यसको मुनाफाको ग्राफ भने बढिरहेको छ।
...




