काठमाडौं : तत्कालीन गण्डकी विकास बैंक (हाल मेगा बैंक) का सेयरधनीले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । मेगा बैंकले एक सूचना प्रकाशित गरी तत्कालीन गण्डकी विकास बैंकका सेयरधनीलाई आर्थिक वर्ष २०७१–७२, २०७२–७३ र २०७३–७४ मा वितरण गरिएको बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको हो । उक्त कर वापतको रकम बैंकको सेयर रजिस्ट्रार मेगा क्यापिटल मार्केटको खाता नम्बर ००१००१०७१६३१८ मा जम्मा गर्नुपर्नेछ ।
बैंकको रकम जम्मा गरेको प्रमाण सहितको भौचर इमेल ठेगाना ([email protected]) सकिनेछ । कर जम्मा भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुनेछ । रकम जम्मा गर्दा सेयरधनीको नाम थर, हितग्राही खाता नम्बर, सेयरधनी खाता नम्बर, तथा कुन आर्थिक वर्षको कर विवरण बुझाएको हो, त्यो स्पष्ट रुपमा खुलाउन पर्नेछ । मेगाले गण्डकीलाई एक्वायर गरेर असार २१ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेको छ ।






