गत वर्ष सेप्टेम्बरमा एक चिनियाँ गिरोहले नेपाली बैंकका एटीएमहरूमा सिरियल ह्याकिङ गरेपछि डिजिटल बैंकिङमाथि धेरै सन्देह सतहमा आए । यो एटीएम ठगीको प्रकृति नेपालमा मात्र नभएर विश्वमा नै नितान्त नयाँ थियो । बैंकिङ प्रविधि विज्ञहरूका अनुसार यसको प्रकृति यतिसम्म घातक थियो कि यदि सात दिनसम्म पनि ह्याकिङको कुरा कुनै पनि बैंकले सुइको नपाइदिएको भए देशभरिका एटीएममा उपलब्ध आधाभन्दा बढी रकम चिनियाँ गिरोहले ठगी गर्न सक्थ्यो । हुन त यो घटना हुनुपूर्व पनि नेपालको डिजिटल बैंकिङमा किर्ते कर्तुत नहुने गरेका होइनन् । सबै बैंकले हामी सुरक्षित छौं भने पनि बैंकिङ कसुर केलाउँदै जाने हो भने कुनै बैंकका एटीएम ह्याकिङमा परेका छन् भने एटीएम ह्याकिङबाट बचेका बैंकहरूको खातामा अनलाइन ह्याक भएको छ । एटीएम प्रयोग गर्दा खाताबाट पैसा घट्ने तर पैसा हातमा नआउने घटना त हरेक दिनजसो देखिने र भोगिने गरेका छन् ।





