काठमाडौं । पछिल्लो समय नेपाली बैंकिङ प्रणालीमा प्रविधिको प्रयोग बढ्दै गएको छ । प्रविधिको विकास र विस्तारले सेवा प्रवाह र लिनेलाई सजिलो हुने भएकाले यसको प्रयोग व्यापक रुपले विस्तारित भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि आएको छ ।
केन्द्रीय बैंकले हालै गरेको नेपालमा वित्तीय पहुँच विस्तारै बढ्दै गएको छ । मोबाइल बैंकिङसँगै इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गएको चार वर्षमा ४ लाखबाट यस्ता प्रयोगकर्ता अहिले ९ लाख पुगेको अध्ययनले देखाएको छ । चेक र क्यासको सट्टा अनलाइन भुक्तानी तथा कारोबारप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको हो ।
बैंक तथा वित्तीय संस्थामा आम ग्राहकको ३ करोड २४ लाख ५४ हजारभन्दा बढी निक्षेप खाता रहेको छ । निक्षेपकर्ताले खोलेका खातामध्ये २ करोड ७७ लाख २४ हजार ७ सयभन्दा बढी खाता निक्षेप वाणिज्य बैंकमा रहेको छ भने ४० लाख ७५ हजारभन्दा बढी खाता विकास बैंक र ६ लाख ५४ हजार खाता फाइनान्स कम्पनीमा रहेको छ ।





