काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो बनेको छ ।
बैंकको आधारदर ६ प्रतिशत भन्दा कम भएकाले समग्रमा ब्याजदर पनि एकल विन्दुमा झरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको आधार दर ६ प्रतिशत भन्दा पनि तल ५ दशमलव ९० प्रतिशत कायम भएको बताए ।
यसमा १ दशमलव २५ प्रतिशत देखि ३ दशमलव २५ प्रतिशत सम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराइएको श्रेष्ठले बताए । अधिकतप प्रिमियम जोडदा समेत बैंकको ब्याजदर ९ प्रतिशतको हाराहारीमा रहेकाले बैंकको ब्याजदर अन्य बैंकहरुको भन्दा धेरै सस्तो भएको बताए । उनले ७ दशमलव २५ प्रतिशत ब्याजदरको घरकर्जा उपलब्ध गराइएको समेत बताए ।
यो कर्जा घर किन्न, घडेरी किनेर घर बनाउन र अन्य बैंकबाट लिएको घरकर्जालाई स्वाप गर्ने सुविधा समेत दिइएको उनले बताए । कोभिड १९ को असरले कर्जाको माग कम भएर गएको र निक्षेपमा चाप नपर्दा लगानी योग्य रकम बढेकाले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटेको बताए । उनले नेपालका वाणिज्य बैंकहरुमा सबैभन्दा बढी प्रतिस्पर्धि राष्ट्रिय वाणिज्य बैंक नै रहेको र यसको ब्याजदर पनि अन्य बैंकको तुलनामा न्यून भएको बताए ।
...






