काठमाडौँ — सांसदहरूले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ व्यवसाय ब्युँतिएको भन्दै तत्काल रोक्नुपर्नेमा जोड दिएका छन् । ‘नेटवर्किङ व्यापार रूप फेरेर आउने हो, जुन नाममा आए पनि यसको भित्री मर्म ठगी गर्ने नै देखिन्छ,’ प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बिहीबार आयोजना गरेको बैठकमा सांसद सोमप्रसाद पाण्डेले भने, ‘यस विषयमा धेरै छलफल आवश्यक छैन । जनमत नेटवर्किङको विषयमा छैन । कम्पनीहरूले नेटवर्किङ कारोबार गरेको भए त्यो ठगी हो ।’
सांसद देवेन्द्र पौडेलले कारोबारका लागि स्वीकृति दिनु उचित नभएको बताए । ‘वस्तुहरूको प्रमाणीकरण, मानिसलाई पर्ने आवश्यकता र औचित्य पुष्टि नभएको पाइन्छ, राज्यको सम्बद्ध निकायले प्रमाणित गरेको छैन । त्यस्तो वस्तु उपभोक्तालाई किन चाहियो ?’ पौडेलले भने, ‘त्यसकारण घुमाउरो किसिमले यस प्रकारको वस्तु/ व्यवसायलाई स्वीकृति दिनु हुँदैन ।’
सांसद प्रकाश रसाइलीको भनाइ पनि उस्तै छ । वस्तुको प्रत्यक्ष बिक्रीका नाममा दिइएको इजाजत तत्काल रोक्नुपर्ने उनले बताए । ‘यो संसद्को महत्त्वपूर्ण विषय हो, यो व्यवसाय युरोप–अमेरिकामा राम्रो भनिएको दाबी गरेको पनि सुनें तर त्यहाँको चेतनाको स्तर जस्तै यहाँ पनि भए सबै लोकप्रिय हुन्थे । यहाँ कसैले ५ करोड ठगी गरेर १ करोड खर्च गरे निर्दोष सावित हुन्छ,’ रसाइलीले भने, ‘विगतमा धेरै नेपालीले आत्महत्या पनि गरे । इजाजत दिने काम तत्काल रोक्नुपर्छ । छलफल गरेर सरकारलाई उचित निर्देशन दिऔं ।’ विगतमा सर्वसाधारणलाई ठगेकाहरूले के–के सजाय पाए, नपाएको पनि समितिलाई जानकारी दिनुपर्ने उनले बताए ।




