साउन १२, काठमाडौं । रिलायबल नेपाल लाइफले सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौंमा आइतवार आयोजित दोस्रो वार्षिक साधारण सभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित उक्त कम्पनीले संस्थापकहरुबाट रू. १ अर्ब ४० करोड बराबरको शेयरपूँजी चुक्ता गरिसकेको छ । बाँकी रू. ६० करोड बराबरको शेयरपूँजी भने कम्पनीले सर्बसाधारणबाट चुक्ता गर्नेछ ।
विसं २०७४ साल भदौ ३ गतेदेखि औपचारिक रूपमा कारोबार सुचारु गरेको उक्त कम्पनीले हालसम्म १७ प्रकारका बीमा योजनाहरु बजारमा ल्याएको कम्पनीका अध्यक्ष उदय नेपालीले सभामा जानकारी दिएका छन् ।
साधारण सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७४/ ७५ को वार्षिक वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदनसमेत पारित गरेको छ ।
पछिल्लो वित्तीय विवरण (तेस्रो त्रैमास) अनुसार नयाँ जीवन बीमा कम्पनीहरुमध्ये उक्त कम्पनीले सबैभन्दा बढी खुद नाफा गरेको छ ।




