काठमाडौँ — विगतमा हर्बो, क्रिस्टल, भिजनलगायत नेटवर्किङ कम्पनीको धन्दाबाट लाखौं सर्वसाधारण ठगिएका थिए । सर्वसाधारण ठगिएपछि तत्कालीन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले ०७०/७१ सालताका ठगी गरेको प्रमाणसहित क्षतिपूर्ति दाबी गर्न सूचना निकाल्यो । सूचना प्रकाशन भएलगत्तै हजारौं सर्वसाधारणले ठगिएको उजुरी दर्ता गराए ।
‘ठगीको मुद्दा परेपछि चार नेटवर्किङ कम्पनीको २५ लाखका दरले रहेको करिब एक करोड रुपैयाँ धरौटीबाट क्षतिपूर्ति दिने हिसाबमा सूचना प्रकाशन भयो,’ विभागका एक अधिकारीले भने, ‘हजारौंको संख्यामा ठगिएका सर्वसाधारणले करिब ५ करोडको माग दाबी गरे । तर क्षतिपूर्ति नपाउँदै प्रतिवेदन हरायो ।’ चार कम्पनीको धरौटी रकम सरकारकै नाममा जफत भए पनि सर्वसाधारणले क्षतिपूर्ति पाएनन् । ती अधिकारीका अनुसार अनुगमन, अनुसन्धानपछि फाइल एकै व्यक्तिले मात्रै हेर्दैनन् । फाइल व्यवस्थित तरिकामा नहुँदा धेरै फाइल हराएको हो ।




