काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले उपयुक्त बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्तिका लागि ढोका खुल्लै रहेको बताएका छन्।
मेगा बैंक सञ्चालनको १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा अध्यक्ष शाहले यस्तो धारणा सर्वाजनिक गरेका हुन्। यो अवधिमा पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गर्दै गत महिनामात्रै गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु पनि मेगा बैंकको महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष शाहले बताए। ‘मर्जर र प्राप्तिका लागि ढोका खुल्लै छ’, उनले भने, ‘मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रा जारी छ।’
अध्यक्ष शाहले स्थापनाको १० वर्षमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएकोमा गौरवान्वित भएको पनि बताए। ग्राहक, संस्थापक, शेयरधनी, सञ्चालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण मेगा बैंकले सफलता हासिल गरेको उनको भनाइ थियो।






