एटिएम दिए बापत बैंकहरूले सर्वसाधारणबाट मोटो रकम असुल्ने गरेका छन्। नयाँ एटिएम कार्ड लिए बापत १ सय रूपैयाँ र सेवा शुल्कको रूपमा वार्षिक रूपमा ५ सय रूपैयाँसम्म लिने गरेका छन्।
ग्राहकले एटिएमको माग गर्नसाथ बैंकले कार्ड उपलब्ध गराए बापत १ सय रूपैयाँ शुल्क र वार्षिक सेवा शुल्क ५ सय रूपैयाँ लिने गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले जनाएको छ।
स्टयाण्डर्ड चार्टर्ड, नबिललगायतका बैंकले एटिएम प्रयोगकर्ताबाट सबैभन्दा बढी शुल्क लिने गरेका छन्। अन्य बैंकले भने ती बैंकले भन्दा कम शुल्क लिने गरेका छन्।
एटिएम कार्ड बनाएकै १ सय रूपैयाँ पर्ने भएकाले शुरूमा बैंकले १ सय रूपैयाँ लिने गरेको नेपालकै सबैभन्दा जेठो बैंक, नेपाल बैंक लिमिटेडका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए। ‘नेपाल बैंकले एटिएम कार्ड लिदा एक सय लिने गरेको छ,’ उनले भने, ‘त्यसपछि वार्षिक रूपमा नविकरण शुल्कको रूपमा २ सय रूपैयाँ लिने गरेका छौं।’
बैंकले यसरी लिने रकम शुल्क भने ग्राहकले नगद नै तिर्नु पर्दैन। ग्राहकको खाताबाट बैंकले कटाउने गरेका छन्।
पछिल्लो समय एटिएम कार्ड नलिने ग्राहक नै नहुने गरेको बैंकहरू बताउँछन्। नेपाल राष्ट्र बैंकले नगदलाई निरूत्साहित गर्दै नगद रहित कारोबारलाई प्रोत्साहन गर्दै आएको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएसँगै एटिएमबाट रकम निकाल्ने झनै धेरै बढेका छन्।
ग्राहकले पनि एटिएम कार्डको भरपुर प्रयोग गर्दै आएका छन्। २४ सै घण्टा बैंक अटोमेटिक टेलर मेसिन (एटिएम) बाट पैसा निकाल्न सकिने भएकाले पनि एटिएमको लोकप्रियता बढ्दै गएको छ।
...





