याँ आर्थिक वर्षदेखि नेपाल धितोपत्र बोर्डले डिजिटल केवाइसी अनिवार्य गर्दै बहु हितग्राही (मल्टिपल डिम्याट) खाता चलाउन छुट गर्ने भएको छ।
शेयर बजारलाई थप पारदर्शी बनाउन र अर्काको नाममा शेयर कारोबार गर्नेलाई निरुत्साहित गर्न डिजिटल केवाइसी अनिवार्य गर्दै बहु (मल्टिपल) डिम्याट खाता चलाउन छुट गर्ने भएको हो। "नयाँ आर्थिक वर्षबाट हामी डिजिटल केवाइसी अनिवार्य गर्ने योजनामा छौ," नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले मेरो लगानीसँग भने।
केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)ले लामो समयदेखि डिजिटल केवाइसीको परीक्षण गर्दै आएको छ। हाल १० निक्षेप सदस्यले परीक्षणको रुपमा यो केवाइसी सफलतापूर्वक परीक्षण गरिरहेको सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेले बताए। "१० वटा निक्षेप सदस्यबाट हामीले सफलता पूर्वक परीक्षण गरिरहेका छौ," न्यौपानेले भने।
उनका अनुसार परीक्षणमा असाध्यै राम्रो नतिजा आएको छ। अब प्रणालीलाई अनिवार्य गर्न सकिन्छ। डिजिटल केवाइसी अनिवार्य भएपछि कसैले पनि अर्काको नाममा डिम्याट खाता र ब्रोकर कम्पनीमा शेयर कारोबार गर्ने खाता खोल्न सक्दैनन्। लगानीकर्ताले डिजिटल केवाइसी घरमै बसेर अनलाइनबाटै खोल्न सक्छन्। तर, अनलाइनबाट केवाइसी फारम भरिए पनि एक पटक खाता खोल्न चाहनेले, खाता खोल्न चाहेको निक्षेप सदस्य वा ब्रोकर कम्पनीमा भने अनिवार्य उपस्थित हुनु पर्नेछ। किनकि, खाता खोल्नको लागि चाहिने ताजा फोटो, औँठा छाप र दस्तखत निक्षेप सदस्य वा ब्रोकर कम्पनीले उनीहरूकै कम्पनीको रोहबरमै लिनु पर्छ। जसमा औँठा छाप बायोमेट्रिक हुने छ। जसले गर्दा अन्यले खाता खोल्न सक्ने सम्भावना न्यून हुने छ।आधिकारिक व्यक्ति बाहेकका अन्यले खाता नखोलुन् भन्नको लागि डिजिटल केवाइसीमा सुरक्षा मापदण्ड अपनाइएको छ। ...





