काठमाडौं : राष्ट्र बैंक नयाँ मौद्रिक नीतिको तयारीमा जुटेको बेला सरोकारवालाले विद्यमान संकटबाट बाहिर निस्कने र वित्तीय स्थायित्व पनि कायम रहने गरी प्रविधिको प्रयोग बढाउन आग्रह गरेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पुनर्कर्जाको सुविधा कोरोनाबाट अत्यधिक प्रभावित भएका र पुनरुत्थानका लागि निकै लामोे समय लाग्ने व्यवसायमा मात्र दिनुपर्ने सुझाएका छन्। अहिले बैंकहरू नाफा बाँडेर खानेभन्दा आगामी दिनमा देखा पर्नसक्ने सम्भावित चुनौती थेग्न वित्तीय सूचकमा बलियो भएर बस्नुपर्ने उनले बताए।
दाहालले फागुनयता मात्रै मोबाइल बैंकिङको प्रयोगकर्ताका संख्या ६० देखि ७० प्रतिशत बढेको बताए। भुक्तानी प्रणालीको सुधार र डिजिटल बैंकिङको प्रवर्द्धन गर्न आउँदो ५ वर्षमा नगद कारोबारलाई कुन स्तरमा घटाउने भन्ने स्पस्ट लक्ष्य लिएर अघि बढ्नुपर्ने उनले बताए। यसका लागि अहिलेको नगद कारोबारको सीमा १० लाखबाट १ वा २ लाखमा झार्न पनि मौद्रिक नीतिमार्फत निर्णय लिइनुपर्ने उनले बताए।
वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले कर्जा पुनर्संरचनामा पनि २५ प्रतिशत ब्याज तिर्नुपर्ने व्यवस्था समेत अहिलेको अवस्थामा कतिपय व्यवसायीका लागि कठीन पर्ने बताए। उनले चालु पुँजीका लागि दिने १० प्रतिशत कर्जा थप्ने व्यवस्थाको समेत पुनः विचार गर्नुपर्ने बताए। ‘सबैलाई १० प्रतिशत चाहिन्न, कोहीलाई त्योभन्दा बढी पनि चाहिन्छ’, उनले भने, ‘राष्ट्र बैंकले नदिनु भनेका क्षेत्रमा पनि थप कर्जा आवश्यक परेको छ। त्यसकारण यस्तो छनोटको अधिकार बैंक तथा वित्तीय संस्थालाई नै दिनुपर्छ।’
तुलाधरले ऋणको ब्याजदर घटाउने दबाबमा निक्षेपको ब्याजदर कम गर्नु नहुने र मर्जरलाई धेरै महत्व दिन नपर्ने तर्क गरे। उनले लकडाउन र कोरोना भाइरसको जोखिमका कारण सामाजिक दूरी कायम गर्नुपर्ने हुँदा सार्वजनिक यातायातको उपयोग घट्ने भएपछि साना गाडी र दुईपांग्रे सवारीसाधनको बिक्री आगामी दिनमा बढ्नसक्ने बताए। यसका लागि सुरुआति भुक्तानी र ब्याजदर सकेसम्म घटाएर ऋण दिने सुविधा आवश्यक पर्ने उनको भनाइ छ। यससँगै, हरेक बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा बेग्लाबेग्लै ग्राहक पहिचान फारम भर्नुपर्ने झण्झट हटाउने केन्द्रीकृत ग्राहक पहिचान प्रणालीको विकास गर्नुपर्ने उनले बताए।





