सेयर कारोबारमा विद्युतीय भुक्तानीे सीमा हट्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेयर कारोबारमा विद्युतीय भुक्तानीे सीमा हट्यो

अब मोबाइल बैंकिङमार्फत प्रतिपटक एक लाख र इन्टरनेट बैंकिङमार्फत १० लाख भुक्तानी गर्न सकिन्छ

काठमाडौँ — कनेक्ट आईपीएसमार्फत सेयर कारोबारको भुक्तानी गर्दा विद्यमान सीमा लागू नहुने भएको छ । कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिले सहज रूपमा आवागमन हुन सकेकाले विद्युतीय कारोबारको सीमा हटाइएको राष्ट्र बैंकले मंगलबार जारी गरेको परिपत्रमा उल्लेख छ ।

हाल मोबाइल बैंकिङमा प्रतिदिन एक लाख, प्रतिमहिना १० लाख तथा इन्टरनेट बैंकिङमा प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख रुपैयाँ बराबर कारोबार गर्न पाइन्छ । राष्ट्र बैंकले सेयर कारोबारका लागि यही सीमा लागू नहुने व्यवस्था गरेको हो । सेयर कारोबारमा ठूलो रकम कारोबार गर्नुपर्ने भएकाले हालको सीमा हटाउन सरोकारवालाहरूले आग्रह गरेका थिए । सोही आग्रहमा राष्ट्र बैंकले उक्त सीमा बढाएको हो ।

नयाँ व्यवस्थाअनुसार अब सेयर कारोबारमा मोबाइल बैंकिङमार्फत प्रतिपटक १ लाख र इन्टरनेट बैंकिङमार्फत प्रतिपटक १० लाख रुपैयाँ भुक्तानी गर्न सकिनेछ । यसको अर्थ उल्लिखित सीमामा रहेर लगानीकर्ताले एक दिनमा जति पटक पनि कारोबार गर्न सक्नेछन् । राष्ट्र बैंकले सेयर कारोबारमा सीमा हटाए पनि जोखिमको आकलन गरी बैंक तथा वित्तीय संस्थाले भने सीमा तोक्न पाउनेछन् । यसकारण अब सेयर कारोबारमा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा हुने कारोबार सीमा बैंक तथा वित्तीय संस्थाको निर्णयमा भर पर्नेछ ।

‘कोभिड–१९ को महामारीका कारण पर्न गएको असहजताका कारण अर्को व्यवस्था नभएसम्मका लागि धितोपत्र दलालहरूसँग सेयर कारोबार गरेबापत सेवाग्राहीले ग्राहकबाट/लाई प्रतिभुक्तानी कारोबार मोबाइल बैंकिङमा अधिकतम १ लाख र इन्टरनेट बैंकिङमा प्रतिभुक्तानी १० लाखका हिसाबले रकम भुक्तानी गर्न/प्राप्त गर्न सकिने,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘ती भुक्तानीसम्बन्धी कारोबारको जोखिम मूल्यांकन र व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित संस्थाहरूको हुने भएकाले आआफ्नो जोखिम स्तरलाई आधार मानी आन्तरिक सीमा कायम गर्न सक्नेछन् ।’

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको राष्ट्र बैंकले गत चैतदेखि विद्युतीय कारोबारको सीमा बढाएको थियो । हाल मोबाइल बैंकिङ ‘क्यूआर’ कोडमार्फत दैनिक १ लाखसम्म कारोबार गर्न पाइन्छ । मासिक सीमा १० लाख छ । मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन १० लाख रुपैयाँ छ । मासिक रूपमा ३० लाखसम्मको कारोबार गर्न सकिन्छ ।

इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा १० लाख दैनिक कारोबार गर्न मिल्छ भने मासिक सीमा ५० लाख रुपैयाँ छ । वालेटमार्फत गरिने कारोबारमा एजेन्ट वा सबएजेन्टबाट दैनिक २५ हजार र महिनाको १ लाख, बैंक खाताबाट वालेटमा एक पटकमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाखको सीमा कायम गरिएको छ । वालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार २५ हजार, एक दिनमा १ लाख र महिनामा ५ लाखसम्म कारोबार गर्न सकिन्छ ।

Read More