काठमाडौं : एनएलजी इन्सुरेन्सको यसअघि स्थगित हकप्रद अब असार ९ गतेबाट बिक्री खुला हुने भएको छ । यसअघि कम्पनीले इन्सुरेन्सले फागुन २२ गतेबाट चैत २७ गतेसम्म ६०% हकप्रद सेयर खुला गरेको थियो । तर कोरोना संक्रमण चुलिएपछि बीचैमा चैत ११ गतेदेखि बिक्री कार्य स्थगन गरिएको थियो । सोही स्थगित हकप्रदलाई पुनः निष्कासन खुला गर्न लागिएको हो । यस हकप्रद सेयरमा अब असार २५ गतेसम्म आवेदन दिन सकिने छ ।
माघ २६ गतेसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ बानेश्वर, एनएलजी इन्सुरेन्सको केन्द्रीय कार्यालय र शाखा कार्यलयबाट आवेदन दिन सक्नेछन् । यसैगरी, लक्ष्मी बैंकको उपत्यका भित्रका शाखाहरु न्यूरोड, कंलकी र उपत्यका बाहिर नारायणगढ, धनगढी, जनकपुर, इटहरी, दमक, धरान, घोराही, बनेपा, हेटौंडाबाट आवेदन दिन पाइनेछ । सी–अस्वामार्फत आवेदन पाइनेछ ।
एनएलजीको हकप्रदलाई इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । हाल यसको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ६०% हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।



