तीन महिनामा एटीएमबाट ५४ अर्ब २७ करोड अर्ब झिकियो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
तीन महिनामा एटीएमबाट ५४ अर्ब २७ करोड अर्ब झिकियो

चैतको तुलनामा जेठसम्म एटीएम कारोबार १ सय ४४ प्रतिशत बढ्यो

गत वैशाखमा ग्राहकले एटीएमबाट मात्र २३ अर्ब १५ लाख र जेठमा २२ अर्ब ७ करोड रुपैयाँ झिकेका थिए । ०७६ चैतमा यस्तो कारोबार ९ अर्ब ४ करोड रुपैयाँ थियो । लकडाउनका कारण सबै बैंक नखुलेको तर एटीएमबाट चौबीसै घण्टा कारोबार गर्न सकिने भएकाले धेरै कारोबार भएको राष्ट्र बैंक भुक्तानी विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

लकडाउन अवधिमा बैंक तथा वित्तीय संस्थाले सबै विद्युतीय कारोबार र राष्ट्र बैंकले आरटीजीएसमा शुल्क घटाएकाले ती कारोबार बढेको बताइएको छ । सो अवधिमा एटीएमबाट हुने कारोबार संख्या पनि १ सय ४३ प्रतिशत बढेको छ । गत चैतको तुलनामा वैशाखमा यस्तो कारोबार संख्या १ सय ९१ प्रतिशत बढेको थियो । गत चैतमा १० लाख ३८ हजारवटा कारोबार भएकामा वैशाखमा ३० लाख २० हजार र जेठमा २५ लाख २० हजारवटा कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ ।

लकडाउन अवधिमा मोबाइल बैंकिङ कारोबार पनि १ सय २७ प्रतिशत बढेको छ । गत चैतमा मोबाइल बंैकिङमार्फत ५ अर्ब ३९ करोड रुपैयाँ कारोबार भएको थियो । जेठमा यस्तो कारोबार १२ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । चैतको तुलनामा वैशाखमा भएको मोबाइल बैंकिङ कारोबार करिब ८० प्रतिशत बढेको देखिन्छ । चैत ११ देखि जेठसम्म मोबाइल बैंकिङ कारोबार संख्या पनि ३० प्रतिशत बढेको देखिन्छ । गत चैतमा ३२ लाख ८२ हजारवटा मोबाइल बैंकिङ कारोबार भएका थिए । वैशाखमा यो संख्या ४९ लाख ६० हजार पुग्यो । जेठमा केही घटेर ४२ लाख ५१ हजारमा झरेको राष्ट्र बैंकको तथ्यांक छ । मोबाइल बैंकिङबाट ससानो कारोबार गर्न पाइने भएकाले लकडाउन अवधिमा त्यसको लोकप्रियता बढेको राष्ट्र बैंकले जनाएको छ ।

लकडाउन अवधिमा इन्टरनेट बैंकिङ कारोबार भने घटेको छ । चैतदेखि जेठसम्मको अवधिमा इन्टरनेट बैंकिङको कारोबार ७९ र संख्या ७६ प्रतिशतले घटेको छ । इन्टरनेट बैंकिङमार्फत ठूलो कारोबार गर्न पाइन्छ । लकडाउनको अवधिमा व्यापार व्यवसाय ठप्प भएकाले ठूला कारोबार भएका छैनन् । सोही कारण सो अवधिमा इन्टरनेट बैंकिङ कारोबार घटेको भुक्तानी विभाग प्रमुख नेपालले बताए । चैतदेखि जेठसम्म आरटीजीएस कारोबार भने बढेको देखिन्छ । गत चैतको तुलनामा जेठसम्म आरटीजीएसको कारोबार ५२ प्रतिशत र कारोबार संख्या २८ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ । आरटीजीएस ठूला कारोबारका राष्ट्र बैंकले निर्माण गरेको विद्युतीय भुक्तानी माध्यम हो ।

...

Read More