काठमाडौं : नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या दुई करोड १९ लाख १४ हजार ६८ पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको २०७६ चैतसम्मको तथ्यांकअनुसार विभिन्न सेवामार्फत इन्टरनेट चलाउने नेपालीको संख्या दुई करोड १९ लाख १४ हजार पुगेको हो। २०७५ चैतमा इन्टरनेट प्रयोगकर्ता एक करोड ८२ लाख ४८ हजार ४ सय ६१ जना थिए।
एक वर्षको अविधिमा करिब ५ प्रतिशतले इन्टरनेट प्रयोगकर्ता बढेका हुन्। यस अवधिमा ३६ लाख ६५ हजार ६ सय ७ जनामा इन्टरनेटको पहुँच पुगेको छ।
प्राधिकरणका अनुसार धेरै नेपालीले मोबाइल डाटाको सहयोगले इन्टरनेट प्रयोग गर्छन्। कुल इन्टरनेट प्रयोगकर्तामध्ये एक करोड ६५ लाख १९ हजार ९८७ मोबाइल इन्टरनेट प्रयोगकर्ता र फिक्ड तथा वायरलेस इन्टरनेट प्रयोगकर्ता ५३ लाख ९४ हजार ८१ छन्। मोबाइल इन्टरनेटको हिस्सा ७५ प्रतिशत र फिक्ड र वायरलेस इन्टरनेटको हिस्सा २५ प्रतिशत छ।
प्रविधि र आधुनिकतासँगै इन्टरनेट प्रयोगकर्ता बढ्दो क्रममा रहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन्। ‘संसारभर नै भ्याइसभन्दा डाटा प्रयोगकर्ता बढ्दो क्रममा छन्। सूचना प्रविधि विस्तार गर्ने सरकारी नीति छ। यसका लागि सरकारले डिजिटल नेपाल अभियान सुरु गरिसकेको छ’, प्रवक्ता अर्यालले भने, ‘पछिल्लो समय पूर्वाधार विस्तार प्राथमिकतामा रहेकाले पनि इन्टरनेटको पहुँच बढेको छ।’
...





