जेठ २५, काठमाडौं । विज्ञान तथा प्रविधिको क्षेत्रमा आएको गुणात्मक परिवर्तनले जनजीवनलाई सहजमात्रै बनाइदिएको छैन, यसैको आडमा ठगी धन्दासमेत मौलाएको छ ।
अनलाईन कारोबार गर्ने ‘दराज’ले ठगी गरेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा गत कात्तिकको अन्तिम साता उजुरी नै पर्यो । विभागका अनुसार १० ओटा अनलाईन कारोबार गर्ने फार्ममाथि कारवाहीका लागि उजुरी परेको छ । ती फार्मको अनुसन्धान समेत भइरहेको जनाइएको छ ।
विभागका निर्देशक शिवराज सेढाईंले अनलाईन कारोबारलाई कानूनी दायरामा ल्याएर प्रतिस्पर्धी, मर्यादित र उपभोक्तामैत्री बनाउने लक्ष्यका साथ ई–कमर्श कानून तर्जुमा गर्न लागिएको जानकारी दिए ।
कानूनी आधार नभएको अवस्थामा समेत अनलाइन कारोबार मौलाएको,फर्महरुको उजुरीसमेत परेको अवस्थालाई ध्यान दिँदै विभागले उपभोक्तामैत्री कानूनको मस्यौदा गर्न लागेको र त्यसमा समावेश गर्ने विषयका सम्बन्धमा सरोकार भएकाहरुसँग सुझाव लिने क्रम जारी रहेको उनले बताए ।
अनलाईन कारोबार मौलाउँदै गएको भए पनि त्यसलाई नियमन गर्ने कानूनी संरचना भने तयार हुन सकेको छैन । कानूनको अभावमा अनलाईन कारोबारमा गलत काम भए पनि त्यस्ता फर्मलाई कारवाही गरी उपभोक्ताले राहत पाएको अवस्था भने छैन ।
...





